अन्नपूर्ण मिडिया नेटवर्कले विश्व वातावरण दिवसका अवसरमा सोमबार गरेको बहृत् विद्युतीय सवारी र्यालीमा २ सय विद्युतीय सवारी, सवारीधनी तथा चालक सहभागी भएका छन्।
तीनकुनेस्थित अन्नपूर्ण टावरबाट सुरु भएको र्याली गौशाला, चाबहिल, बालाजु, नयाँबजार, सोह्रखुट्टे, दरबारमार्ग, ज्ञानेश्वर र फेरि गौशाला हुँदै तीनकुनेमै आएर सम्पन्न भयो। दुईपांग्रे र चारपांग्रे सवारी सामेल र्यालीको नेतृत्व मुख्य प्रायोजक टाटाको नेक्सन ईभी म्याक्सले गरेको थियो।
‘नेक्सन ईभी एएमएन ईभी र्याली २०२३ इन एसोसिएसन विथ टेस्ला’को उद्घाटन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले गरेका थिए।
ऊर्जामन्त्री बस्नेतले अन्नपूर्ण मिडियाले आफ्नो स्थानबाट आवश्यक पहल गर्नुपर्ने दायित्व सम्झेर र्याली आयोजनाजस्तो सराहनीय काम गरेको बताए।
यो काममार्फत चुनौतीको सही ढंगले सामना गर्दै हरेक व्यक्ति तथा संस्थाले आफ्नो ठाउँबाट चाल्नुपर्ने पहल कस्तो हुन्छ भन्ने सिकाएको उनको भनाइ थियो।
‘वातावरणको वैश्विक आयाममा अन्नपूर्णले असल नियत राखेर ईभी र्याली आयोजना गरेको छ। यो र्यालीले निश्चय नै वातावरण संरक्षण र मानव स्वास्थ्य वातावण प्रवर्द्धन गर्नेछ’, मन्त्री बस्नेतले भने, ‘यो यसर्थमा अभियान सान्दर्भिक र आवश्यक पनि छ।’
वातावरण संरक्षण गर्नु भनेको जमिन, जलसहित वायुको संरक्षण गर्नु पनि रहेको उनले बताए। वायु प्रदूषण रोक्न तथा हरित पर्यावरण जोगाउन विद्युतीय सवारीको भूमिका हुने उनको भनाइ थियो।
‘समस्याको भार घटाउन पेट्रोलियम पदार्थले चल्ने गाडीको सट्टा विद्युतीय सवारी प्रयोग गर्दा हानिकारक उत्सर्जन घटाएर सकारात्मक योगदान रहने हुनाले सरकारले विद्युतीय सवारीलाई प्रवर्द्धन गर्दै आइरहेको छ र आगामी दिनमा पनि प्रोत्साहन गर्ने नीति कार्यक्रम प्रस्तुत गर्दै आइरहेको छ’, उनले भने।
वातावरण प्रदूषित बन्दै गर्दा मानवीय जीवन पनि जोखिमपूर्ण बन्दै गइरहेको टिप्पणी उनले गरे। ‘प्रकृति र मानवबीचको अन्योन्यास्रित सम्बन्धलाई बचाइराख्ने काम चुनौतीपूर्ण छ’, उनले भने, ‘दैनिक जीवनमा आउने समस्या जुन परिमाणमा विस्तार हुँदै गइरहेको छ, त्यही अनुपातमा हाम्रो पहलकदमी विकास गर्न सकेनौं भने समस्या र जीवनको बीचमा ठूलो असन्तुलन पैदा हुन्छ।’
जलवायु परिवर्तनका कारण पृथ्वी तात्दै जाँदा यसलाई न्यूनीकरण गर्नु चुनौतीको विषय भएको मन्त्री बस्नेतले बताए। ‘वातावरणसँग सम्बन्धित विश्वव्यापी समस्याबाहेक नेपालको स्थानीय एजेन्डा पनि छन्’, उनले भने।