अटोव्यवसायीको सहयोगले विश्व स्वास्थ्य संगठनमा नगरपालिकाको प्रसंसा

कोभिडले विश्व नै आक्रान्त भएको बेला अक्सिजन अभावमा धेरैको ज्यान समेत गएको थियो । विभिन्न पेशा तथा नीजि रुपमा अक्सिन सिलिन्डर घरमै राख्नाले आवश्यक पर्नेले पाउन नसकिरहेको अवस्था थियो ।

तर काठमाण्डौंको चन्द्रागिरी नगरपालिकामा भने अवस्था सहज थियो। नगरपालिकाको अनुरोधमा स्थानीय अटोव्यवसायीहरुको सहयोगमा त्यस्ता अक्सिजन सिलिण्डर धेरै नै संकलन गर्न सकिएको थियो । जसका कारण धेरैले त्यसको उपयोग गर्न पाए ।

सोमबार कलंकिको ढुंगाअड्डामा आयोजित एक कार्यक्रममा बोल्दै चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले सो कामका लागि सम्पुर्ण अटो व्यवसायीहरुलाई धन्यवाद दिनुभयो ।

चन्द्रागिरी नगरपालिकाको अनुरोधमा नेपाल अटो मेकानिक्स व्यवसायी संघको अगुवाईमा विभिन्न वर्कशपहरुबाट सिलिण्डरहरु संकलन गर्न सकिएकोले आवश्यक विरामीहरुले समयमै अक्सिजन पाउँदा अकालमा ज्यान जानबाट जोगिन सफल भएको मेयर गिरीले बताउनुभयो । जसको कारण विश्व स्वास्थ्य संगठनमा पनि नगरपालिकाले प्रसंसा बटुल्न पाएको उहाँले बताउनुभयो ।

विश्व वातावरण दिवसको उपलक्ष्यमा सोमबार अटो मेकानिक्स व्यवसायी संघ, ढुँगाअड्डाको आयोजनामा वर्कसप तथा सर्भिस सेन्टर सँचालकलाई डस्टविन वितरण कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मेयर गिरीले वातावरण जोगाउन सबै जना आआफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनुभयो ।

फोहरलाई मोहरमा बदल्न पनि सकिने भन्दै मेयर गिरीले त्यसका लागि एकिकृत योजना बनाउन नगरपालिका संघ अघि बढिरहेको जानकारी पनि दिनुभयो ।

सार्वजनिक सवारीसाधनमा अनिवार्य रुपमा डस्टविन राख्नुपर्ने कुरालाई कडाइका साथ लागु गरिने बताउँदै मेयर गिरीले कुनै निश्चित क्षेत्रको खोजी गरी छुट्टै अटोहब बनाउन सक्दो सहयोग गर्ने बताउनुभयो ।

उपत्यकाबाट बाहिर निस्कन वा भित्रिनका लागि मुख्य द्वारको रुपमा रहेको चन्द्रागिरी नगरपालिकाको सरसफाई तथा सुन्दरताको लागि विभिन्न कार्ययोजनाहरु तय गरिएको समेत मेयर गिरीले कार्यक्रममा जानकारी दिनुभयो ।

कार्यक्रममा ८० जनालाई डस्टविन वितरण गरिएको थियो । संघका अध्यक्ष दिपेन्द्र बुढाथोकिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *