फोर्डले अमेरिकामै सुरु गर्‍यो एलएफपी ब्याट्री उत्पादन

काठमाडौं । विद्युतीय गाडीको मूल्य प्रतिस्पर्धी बनाउने रणनीतिअनुसार अमेरिकी कार निर्माता फोर्डले आफ्नै देशमा ब्याट्री सेल उत्पादन थालेको छ । मिचिगनस्थित ब्लूओभल ब्याट्री पार्कमा कम्पनीले चिनियाँ ब्याट्री निर्माता सीएटीएलको प्रविधिमा आधारित एलएफपी ब्याट्री उत्पादन सुरु गरेको हो ।

उत्पादन केन्द्रबाट निस्किएका पहिलो लिथियम आइरन फस्फेट (एलएफपी) प्रिज्म्याटिक सेल फोर्डको नयाँ विद्युतीय पिकअप ट्रक ‘फ्याथम’ को परीक्षणमा प्रयोग गरिनेछ । त्यसका लागि ब्याट्री सेल केन्टकीस्थित लुइसभिल एसेम्बली प्लान्ट पठाइने कम्पनीले जनाएको छ ।

करिब ३ अर्ब अमेरिकी डलर खर्चेर निर्माण गरिएको यो प्लान्ट फोर्डकै स्वामित्व र व्यवस्थापनमा रहनेछ । सीएटीएलले भने आवश्यक प्रविधि र प्राविधिक सहयोग प्रदान गरेको छ । यहाँका उत्पादन लाइनबाट एक मिनेटमा ४० वटा सेल तयार गर्न सकिन्छ ।

फोर्डले सुरुमा वार्षिक ४० गिगावाट आवर ब्याट्री उत्पादन गर्ने लक्ष्य राखेको थियो । तर, विद्युतीय सवारीको बजार अपेक्षाअनुसार विस्तार नभएपछि हालका लागि उत्पादन क्षमता २० गिगावाट आवरमा सीमित गरिएको छ । कम्पनीले आगामी वर्षदेखि उत्पादन बढाउने योजना बनाएको छ ।

सन् २०२७ को चौथो त्रैमासिकमा सार्वजनिक गर्ने तयारीमा रहेको ‘फ्याथम’ पिकअपको उत्पादन सुरु हुनुअघि नै आवश्यक ब्याट्री उपलब्ध गराउनु फोर्डको प्राथमिकता हो । यसै योजनाअन्तर्गत मिचिगनमै ब्याट्री प्याक उत्पादन गर्ने अर्को कारखाना पनि सन् २०२७ मा सञ्चालनमा ल्याइनेछ ।

किन रोज्यो फोर्डले एलएफपी ब्याट्री ?

विद्युतीय गाडीको मूल्य निर्धारणमा ब्याट्रीको लागत महत्त्वपूर्ण हुने भएकाले फोर्डले एलएफपी प्रविधिमा लगानी बढाएको हो । निकेल र कोबाल्टजस्ता महँगा धातु आवश्यक नपर्ने भएकाले यस प्रविधिबाट बन्ने ब्याट्री तुलनात्मक रूपमा सस्तो पर्छन् । साथै, पटक–पटक चार्ज र डिस्चार्ज गर्दा पनि यस्ता ब्याट्रीको कार्यक्षमता राम्रो रहने बताइएको छ ।

फोर्डले ब्याट्रीमा प्रिज्म्याटिक सेल प्रयोग गरेको छ । यसलाई गाडीको चेसिसमै समायोजन गर्न सकिने भएकाले छुट्टै ब्याट्री संरचना निर्माण गर्नुपर्ने खर्चसमेत कम हुन्छ ।

सीएटीएलसँग सम्झौता गर्नुअघि फोर्डले अन्य अन्तर्राष्ट्रिय ब्याट्री उत्पादकसँग पनि छलफल गरेको थियो । ठूलो परिमाणमा उत्पादन गर्न सकिने र प्रयोगमा प्रमाणित प्रविधि भएकाले सीएटीएलसँग सहकार्य गरिएको कम्पनीको भनाइ छ । हाल विश्वभर करिब ३ करोड सवारीसाधनमा सीएटीएलका ब्याट्री प्रयोग भइरहेका छन् ।

चिनियाँ कम्पनीसँगको सम्झौताले अमेरिकामा विवाद

फोर्डको यो परियोजना प्राविधिक सहकार्यमा मात्र सीमित छैन, यसले अमेरिकी राजनीतिमा समेत बहस सिर्जना गरेको छ । चिनियाँ कम्पनी सीएटीएलसँगको सम्बन्धलाई लिएर केही अमेरिकी सांसद तथा यातायातमन्त्री सिन डफीले आपत्ति जनाएका छन् ।

गत सेप्टेम्बरमा मन्त्री डफीले फोर्डका सीईओ जिम फार्लीलाई पत्र पठाउँदै चिनियाँ कम्पनीहरूसँगको सहकार्यप्रति चिन्ता व्यक्त गरेका थिए । तर, त्यसको भोलिपल्टै ह्वाइट हाउसले अमेरिकाभित्र रोजगारी सिर्जना र उत्पादन क्षमता विस्तारमा फोर्डको भूमिकाको प्रशंसा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *