काठमाडौँ — चिनियाँ टोलीले काठमाडौंको टोखादेखि नुवाकोटको छहरे जोड्ने सुरुङमार्गको प्रारम्भिक अध्ययन गरेको चार वर्ष बिते पनि यसमा थप प्रगति छैन ।
करिब २० जनाको चिनियाँ प्राविधिक टोलीले एक महिना लगाएर सुरुङ निर्माण गर्ने क्षेत्रको प्रारम्भिक अधययन गरेको थियो ।
०७६ फागुनमा आएको टोली माघमा अध्ययन सकेर चीन फर्किएको थियो । त्यसपछि यसमा कुनै प्रगति हुन सकेन ।
उनीहरू गएको केही समयपछि कोभिड महामारी सुरु भएकाले टोली सम्पर्कविहीन बनेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख एवं सहसचिव अर्जुनजंग थापा बताउँछन् ।
टोली अध्ययन गर्न आउँदा थापा मन्त्रालय अन्तर्गतकै विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख थिए । ‘अध्ययन गरेर गएको टोली लामो समय सम्पर्कमा थिएन,’ थापाले भने, ‘अहिले आएर सुरुमा गरिएको प्रारम्भिक अध्ययन अनुसार वातावरणीय अध्ययन गर्न भनिएको छ ।’
टोलीले ८ महिनाअघि चिनियाँ दूतावासमार्फत इमेल पठाएर वातावरणीय अध्ययनको काम अघि बढाउन भनेको हो । ‘त्यसपछि विस्तृत अध्ययन गर्न आफूहरू तयार रहेको उनीहरूले बताएका छन्,’ उनले भने ।