काठमाडौँ — पछिल्लो समय पठाओ, सहारा, जायरजस्ता २५ भन्दा बढी राइड सेयरिङ एप बजारमा उपलब्ध छन् ।
केही राइड सेयरिङ एप भने कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भई सञ्चालनमा छन्, कतिपय भने दर्ताबिनै चलिरहेका छन् ।
सरकारले कानुन नबनाउँदा यस्ता राइड सेयरिङ संस्था करको दायराभन्दा बाहिर नै छन् । ‘इनड्राइभ’ राइड सेयरिङ एपले सेवा दिइरहे पनि हालसम्म विदेशी लगानीसमेत स्वीकृत भएको छैन ।
महालेखापरीक्षकको ६० औं वार्षिक प्रतिवेदनले पनि राइड सेयरिङ नियमन र अनौपचारिक रूपमा भइरहेको कारोबारबारे औंल्याएको छ ।
सवारी तथा यातायात व्यवस्थापन ऐन, ०४९ मा यातायात सेवाको नाम विभागमा पञ्जीकृत नगरी सार्वजनिक यातायात सेवा सञ्चालन गर्न नपाइने र एक प्रयोजनका लागि दर्ता भएको सवारीसाधन अन्य प्रयोजनमा प्रयोग गर्न नहुने व्यवस्था छ ।
नेपालमा हाल ग्लोबल पोजिसनिङ सिस्टम तथा डिजिटल प्लेटफर्म उपयोग गरी सञ्चालन भइरहेका २५ राइड सेयरिङ कम्पनीमध्ये इनड्राइभर नामक एप्लिेकसन विभागमा दर्ता नभएको प्रतिवेदनमा उल्लेख छ ।
‘दैनिक २९ हजार ६ सयसम्म राइडसहित सञ्चालनमा रहेको उक्त एप्लिकेसनबाट हुने औसतमा वार्षिक २ अर्ब ११ करोड ५५ लाख बराबरको कारोबार अनौपचारिक तवरले सञ्चालनमा छ,’ प्रतिवेदनमा भनिएको छ ।