दमौली – तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन केबलकारका ‘डिब्बा’ जडानको तयारी सुरु भएको छ। बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले सो केवलकार निर्माण गरिरहेको हो ।
लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले डिब्बा जडानका लागि सम्पूर्ण टावर तयार भइसकेको र अब डिब्बा जडानको कामलाई अगाडि बढाउन लागिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार केबलकारका २१ डिब्बा आइपुगेको छ । “अब डबल सिफ्टमा कामलाई तीव्रता दिन्छौँ, दुईवटा सामान बोक्ने र छवटा रेष्ट्रो क्याबिन आउन बाँकी छ”, उहाँले भन्नुभयो ।
केबलकारको परीक्षण आगामी वैशाख २५ गतेदेखि सुरु गर्ने तयारी छ । “केबलकारका टावर, तार सबै जोडिसकिएको छ, डिब्बा जडानको काम अब द्रुतगतिमा अगाडि बढ्छ”, उहाँले भन्नुभयो ।
केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारीसमेत गरिएको छ । साँझ ५ बजेपछि केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालन हुनेछ ।