हुन्डाईले छिट्टै एउटा सानो नयाँ एसयूभी एक्सटर ल्याउने भएको छ । कम्पनीले केही समय देखि नयाँ सानो गाडीको बारेमा चर्चा गरिरहेको भए पनि यसको वास्तविक नाम थाहा थिएन ।
हाल उपलब्ध भेन्यु भन्दा केही सानो साइजमा आउने सो नयाँ एसयूभीको नाम एक्सटर हुने जानकारी हालै सार्वजनिक भएको हो । यो कोरियामा बिक्री हुने क्यास्पर जस्तै हुनेछ । कम्पनीले यसको छोटो टिजर पनि सार्वजनिक गरेको छ । हुन्डाई एक्सटर अगस्ट महिनामा लन्च हुने सम्भावना छ ।
हुन्डाई एक्सटरको फ्रन्टमा स्प्लिट हेडलाइट सेटअप र एलईडी डीआरएल दिइनेछ । यसको डीआरएल एच प्याटर्नमा राखिनेछ । बोनेटमा क्यारेक्टर लाइन र साइड पार्टमा १५ इन्चको ड्युअल टोन अलोय ह्विल दिइनेछ ।
इन्जिनको लागि यसमा आई१० मा भएको १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन जडान गरिनेछ । दोस्रो विकल्पमा १.० लिटर टर्बो पेट्रोल इन्जिन दिने सम्भावना छ ।
सो मोडलले भारतमा टाटा पन्चसँग प्रतिस्पर्धा गर्नेछ । एक्सटर भविष्यमा सीएनजी विकल्पमा पनि ल्याउन सकिन्छ । साथै, यसको इलेक्ट्रिक मोडल पछि ल्याइनेछ ।