कोरीयाली अटो उत्पादक हुन्डाईले आगामी सात वर्षमा विद्युतीय गाडी उत्पादनका लागि १८.१४ अर्ब डलर लगानी गर्ने भएको छ ।
हुण्डाई मोटर्स ग्रुपले आफ्नो योजना सार्वजनिक गर्दै सन् २०३० सम्म विद्युतीय गाडीको उत्पादन, प्रविधि विकास र पाटपुर्जा निर्माण लगायतका अन्य विद्युतीय परियोजनामा १८.२ अर्ब अमेरिकी डलर अर्थात् २३ खर्ब ८५ अर्ब लगानी गर्ने घोषणा गरेको हो ।
यो लगानीसँगै विश्व विद्युतीय अटो बजारमा सन् २०३० सम्म बिक्रीका आधारमा तेस्रो ठुलो अटो निर्माता कम्पनी बन्ने योजना समेत कम्पनीको रहेको छ ।
हुन्डाइ र किया एउटै लगानीकर्ता समूहका ब्रान्ड हुन् । अटो समूहले कोरियामा वार्षिक इभी उत्पादनलाई १५ लाख युनिट र विश्वव्यापी मागलाई ३६ लाख युनिटमा पुर्याउने योजना पनि घोषणा गरेको छ ।
वायु प्रदुषणलाई कम गर्ने योजना अन्तर्गत कम्पनीले पछिल्लो केही समयमा विद्युतीय गाडीमा ठूलो लगानी गर्दै आएको छ । अर्को तर्फ विद्युतीय कारको बजार पनि बढ्दो क्रममा रहेकाले कम्पनीले ठूलो लगानीको निर्णय लिएको हो ।