दार्चुलामा एउटा मोटरेबल पुल निर्माण सम्पन्न हुन १० वर्ष लागेको छ। देथला–खार–खलंगा सडकअन्तर्गत पर्ने नौगाड गाउँपालिका– ६ धुलीगडा खोलामा १० वर्षमा बल्ल मोटरेबल पुल निर्माण सम्पन्न भएको हो।
महाकाली लोकमार्गको वैकल्पिक सडकको रूपमा निर्माण भएको खार–खलंगा–गोकुलेश्वर सडक खण्डमा मोटरेबल पुल निर्माण समयमै निर्माण नहुँदा हरेक बर्खामा यातायात चल्न सकेका थिएनन्।
अहिले पुल निर्माण सम्पन्न भएपछि सहज रूपमा आवतजावत सुरु भएको नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामीले जानकारी दिए।
पुलको लोड टेस्ट गरिएको छ। यो पुल सञ्चालन भएसँगै बस, ट्रकजस्ता हेभी इक्युपमेन्ट बोक्ने सवारीसमेत चल्ने छन्।
स्थानीय पूर्वाधार विकास तथा कृषि विभाग (डोलिडार) कार्यान्वयन इकाइ पूर्वाधार विकास कार्यालयमार्फत पुल निर्माण गरिएको हो।
०७१ असार २२ गते थोदुङ जशलिंग जेभीसँग पुल निर्माणको ठेक्का सम्झौता भएको थियो।
तीन करोड ५० लाख ७८ हजार चार सय २५ रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको भौतिक पूर्वाधार विकास कार्यालय बैतडीका कार्यालय प्रमुख जंगबहादुर थापाले बताए। पुलको लम्बाइ ४५ मिटर रहेको छ।
यो क्षेत्रमा अहिले सुदूरपश्चिम प्रदेश सरकारको भौतिक मन्त्रालयबाट देथला–खार–खलंगा सडकखण्डसमेत चौडा तथा कालोपत्रे गर्ने कार्य भइरहेको छ।
Post Views: 251