काठमाडौं–बालाजु–रानीपौवा खण्डको मुड्खु–तीनपिप्ले सडकमा धमाधम कालोपत्र गर्न थालिएको छ । यहीं सडक खण्ड हुँदै काठमाडाैंको फोहोर सिसडोल लैजाने गरिएको छ ।
सडकका कारण उपत्यकाको फोहोर विसर्जनमा समस्या भएपछि ‘फास्ट ट्रयाक’मा काम सक्न भन्दै उक्त खण्डको कालोपत्र थालिएको हो ।
चार महिनाभित्र काम सक्नेगरी बालाजु–रानीपौवा सडकअन्तर्गत मुड्खु–तीनपिप्ले खण्ड कालोपत्र गर्न असोजमा ठेक्का सम्झौता भएको थियो ।
सम्झौता अनुसार माघ २६ भित्र काम सकिइसक्नुपर्नेछ । तोकिएको समयभित्र काम नसकिए ठेक्काको म्याद थप नहुने सडक विभागले जनाएको छ ।
ठेक्का कमलजित–ड्रागन जेभीले पाएको हो, ठेक्का लागेको रकम १५ करोड रुपैयाँ छ । अर्थ मन्त्रालयबाट १० करोड रुपैयाँ रकमान्तर भएर आएपछि काम अघि बढेको बालाजु–रानीपौवा–त्रिशूली सडक विस्तार आयोजनाले जनाएको छ । थप रकम पनि रकमान्तरमार्फत नै आउने आयोजना प्रमुख गौतम श्रेष्ठले बताए । शुक्रबारबाट यो खण्डमा कालोपत्र गर्न सुरु गरिएको हो ।
‘पहिलो दिन १६ सय मिटर सडक कालोपत्र गरिसक्ने छौं,’ आयोजना प्रमुख श्रेष्ठले भने, ‘तोकिएकै समय माघभित्र सक्नेगरी नै काम भइरहेको छ ।’
सवारी आवागमन नरोकी काम गरिरहेको उनको भनाइ छ । ‘पहिलो चरणमा एक लेन सडक कालोपत्र गर्ने र दोस्रो चरणमा थप लेन कालोपत्र गरिने छ,’ उनले भने, ‘गाडीको आवागमन बन्द नगरी काम गरेका कारण एकैपटक दुई लेन सडक कालोपत्र गर्न सकिएन ।