अटोमेकानिक्स ट्रेड युनियनले मनायो २६ औं स्थापना दिवस

जिफन्टको सदस्य युनियन नेपाल अटोमेकानिक्स ट्रेड युनियनले आफ्नो स्थापनाको २६ औं वर्षगाँठ भव्यताका साथ मनाएको छ ।

अटो क्षेत्रमा काम गर्ने श्रमिकहरुले २०५४ साल साउन ४ गते स्थापना गरेको संगठनले २६ औँ वर्ष पुरा गरी २७ औँ वर्ष प्रवेश गरेको अवसरमा देशभरी विभिन्न कार्यक्रम गर्दै स्थापना दिवस मनाएको हो ।

नेपाल अटो मेकानिक्स् ट्रेड युनियन केन्द्रीय कमिटीले अनामनगर स्थित जिफन्ट ट्रेड युनियन स्कुलमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले राणा शासनको विरुद्ध नेपालका श्रमिकहरुले सुरुवात गरेको २००३ सालको पहिलो मजदुर आन्दोलनमा अटोमेकानिक्स् मजदुरले ट्याक्टरलाई ट्याङ्क बनाएर राणा बडाहाकिमको कम्पाउण्ड भत्काउने शाहसिक काम गरेको स्मरण गर्नुभयो ।

समय परिवर्तशील छ प्रविधिमा आएको परिवर्तनसंगै अटो मेकानिक्स् मजदुरहरुले आफ्नो शीप र दक्षतामा समेत अभिवृद्धि गर्नु पर्ने श्रेष्ठले बताउनु भयो ।

सो अवसरमा अटो मजदुरहरुलाई अनलाइन प्रशिक्षण प्रदान गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संगठनका संस्थापक अध्यक्ष बलराम खत्री, पूर्व अध्यक्षहरु माधव पाण्डे, कमला तामाङ, जीवन अधिकारी, जिफन्ट बागमती उपसचिव गोपाल कार्कीले शुभकामना व्यक्त गर्नुभयो ।

जिफन्टका २१ वटै घटकहरुको तर्फबाट नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता संगठनका अध्यक्ष प्रदिप घिमिरे र सञ्चालन महासचिव यादव ढकालले गर्नु भएको थियो ।

त्यसैगरी संगठनको २६ औं स्थापना दिवसको अवसरमा सुदुरपश्चिम प्रदेश कमिटीले अटो मजदुरहरुका लागि नि: शुल्क स्वास्थ्य परिक्षण, रक्तदान कार्यक्रम र अग्रज तथा मजदुर आन्दोलनका अगुवाहरुलाई सम्मान गरेको छ ।

लुम्बिनी प्रदेशले सडक सरसफाइ तथा रक्तदान गरि मनायो त्यस्तै देश भरि विभिन्न कार्यक्रमहरुको आयोजना गरी २६ औँ स्थापना दिवस मनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *