बुटवलमा बहुतले पार्किङ भवन निर्माण गर्न सम्झौता भएको छ ।
बढ्दो सवारी चाप र पार्किङ व्यवस्थित गर्न बुटवल उपमहानगरपालिका र नगर विकास कोषबीच लगानीका लागि सोमबार सम्झौता भएको हो ।
पार्किङ भवन निर्माणका लागि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
पार्किङ भवन निर्माण योजनाका लागि ३० करोड ४० लाख रुपैयाँ अनुमान गरिएको छ ।
पार्किङ भवन निर्माण भएपछि बुटवलको मुख्य बजार क्षेत्रमा पार्किङ हट्ने नगर प्रमुख पाण्डेयले बताए ।
‘बुटवलमा रहेको पार्किङको समस्या समाधानका लागि पार्किङ भवन निर्माण गर्न लागिएको हो,’ उनले भने, ‘यो पार्किङ भवन बनेपछि बुटवलमा सडकमा गाडी पार्किङ गर्नुपर्ने बाध्यता हट्नेछ, यसले बुटवललाई अझै व्यवस्थित सहरका रूपमा स्थापित गर्न मदत गर्छ ।’
घरबाहिरको सडकमा गाडी राख्नेले निश्चित शुल्क तिरेर पार्किङ भवनमा गाडी राख्न सक्ने भएकाले मुख्य सडक र भित्री सडकमा हुने पार्किङ हट्ने उल्लेख गरे ।
बुटवल-९ लुम्बिनी बस टर्मिनल परिसरमा निर्माण हुने आधुनिक बहुतले पार्किङ भवन निर्माणका लागि ७० प्रतिशत लगानी नगर विकास कोषले गर्नेछ भने बाँकी ३० प्रतिशत बुटवल उपमहानगरपालिकाले लगानी गर्ने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।
२०७९ असोज १५ गते पार्किङ भवन निर्माणका लागि परामर्शदाता कम्पनी मल्टिडेफोर्ट हार्मोनिक जेभीसँग सम्झौता भइै प्रतिवेदन पेस गरेपछि लगानीका लागि नगर विकास कोषसँग सम्झौता गरिएको हो ।
लगानीको टुंगो लागिसकेकाले अब बाँकी काम सुरु हुने प्रमुख प्रशासकीय अधिकृत पन्थीको भनाइ छ ।
बाँकी प्रक्रिया पूरा गरी निर्माणका लागि ठेक्का प्रक्रियामा जाने उनले बताए ।
साततले पार्किङ भवनमा एकसाथ करिब दुई सय हलुका सवारी पार्किङ गर्न सकिने उपमहानगरका योजना महाशाखाका निर्देशक सुमन श्रेष्ठले जानकारी दिए ।
‘सबैभन्दा तल्लो तलामा गाडी लगेर छाडेपछि आफै स्वचालित मेसिनले खाली भएको ठाउँमा गाडी लगेर राख्छ र गाडी लिन आएपछि कोड अनुसार पुनः गाडी तल्लो तलामा आउँछ,’ उनले भने ‘आधुनिक प्रविधिको प्रयोग गरी यसरी गाडी पार्किङ गरिनेछ ।’