धनगढीको मुख्य सडक स्तरोन्नतिको शिलान्यास

धनगढी मुख्य बजार क्षेत्रको सडक स्तरोन्नतिको शिलान्यास गरिएको छ।

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले मुख्य बजार क्षेत्रस्थित कैलाली पुलदेखि क्याम्पसचोकसम्म सडक स्तरोन्नतिको मंगलबार शिलान्यास गरेका हुन्।

प्रदेश सरकारको ५१ करोड ५९ लाख रुपैयाँ लागतमा बजार क्षेत्रमा फुटपाथसहित अत्याधुनिक सडक निर्माण गर्न लागिएको हो ।

मुख्य बजार क्षेत्रमा ३० मिटर चौडाइको दुई हजार तीन सय मिटर सडक निर्माण हुने धनगढी उपमहानगरपालिकाले जनाएको छ।

सडक फराकिलो बनाउन मुख्य बजार क्षेत्रका घरहरू उपमहानगरले भत्काएको छ ।

उपमहानगरले बजार क्षेत्रमा सडक फराकिलो बनाउने अभियान सुरुवात गरेपछि अभियानलाई साथ दिँदै अधिकांश घरधनीले आफ्नो घर आफैँ भत्काएका थिए ।

सडक निर्माणको ठेक्का केएस कन्स्ट्रक्सनले पाएको छ ।

गत २७ वैशाखमा प्रदेशमातहतको पूर्वाधार विकास कार्यालय कैलाली र निर्माण कम्पनीबीच भएको सम्झौताअनुसार दुई वर्षभित्र सडक निर्माणको काम पूरा गर्नुपर्नेछ।

फुटपाथ, साइकल लेन, ढल निकास तथा विद्युत्, टेलिफोन, इन्टरनेटका तारहरू भूमिगत राखी अत्याधुनिक सडक बन्न लागेको हो।

उपमहानगरपालिकाको अनुरोधमा प्रदेश सरकारले सडक स्तरोन्नतिका लागि यस वर्ष बजेट विनियोजन गरेको थियो।

बीच भागदेखि दुवैतर्फ १४–१४ मिटरको मुख्य सडकको दायाँबायाँ डेढ–डेढ मिटरको खानेपानी र टेलिफोनका लागि ‘अन्डरग्राउन्ड पास’ रहने उपमहानगरपालिकाका इन्जिनियर दिजराज भट्टले जानकारी दिए ।

मुख्य बजार क्षेत्रअन्तर्गत ट्राफिक चोक चौराहादेखि कैलाली पुलसम्मको खण्ड क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत निर्माण भइरहेको छ।

यो सडक २४ मिटर चौडाइमा काम भइरहेको छ। दुवै खण्डको काम पूरा भएपछि धनगढी बजार क्षेत्रमा सुविधासम्पन्न स्तरीय सडक हुनेछन्।

भौतिक पूर्वाधार विकासमन्त्री देउवाले सडक निर्माणमा बजेटको कमी हुन नदिने बताए ।

उनले सडक निर्माणमा सबैले साथ दिनुपर्ने धारणा राखे । धनगढीका मेयर गोपाल हमालले सडक निर्माणको काम समयमै सम्पन्न हुनेमा आफू आशावादी रहेको बताए ।

सडक निर्माणका क्रममा उपमहानगरले आवश्यक सहयोग, समन्वय गर्ने भन्दै उनले निर्धारित अवधिभन्दा चाँडै काम सक्न निर्माण कम्पनीलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *