कबाडी व्यवसायमा ठूलो राजस्व छली

राजस्व अनुसन्धान विभागले दुई साताअघि कबाडी सामान बोकेको ना.६ख ६३८७ नम्बरको ट्रक नागढुंगा नजिकैबाट नियन्त्रणमा लियो ।

ट्रकमा १० हजार रुपैयाँबराबरको मात्र कबाडी सामान रहेको भनेर बिल बनाइएको थियो । तर, अनुसन्धानमा एक करोडभन्दा धेरैको सामान रहेको भेटियो ।

यसरी कर छली गर्ने देवांशी सप्लायर्सलाई विभागले सामानअनुसारको हिसाबमा १२ लाख ८० हजार जरिवाना तिराएको छ ।

एकातर्फ मूल्य कम राखेको र अर्काेतर्फ परिणाम नै फरक परेको विभागले जनाएको छ । दुई हजार केजी कबाडीका सामान उल्लेख गरिएकोमा विभागले जाँचबुझ गर्दा ६ हजार केजी भेटिएको थियो ।

कबाडी सामानको औसत मूल्य सय रुपैयाँभन्दा धेरै हुने गरेकामा उनीहरूले पाँच रुपैयाँको बिल बनाउने गरेको पाइएको छ । सोही आधारमा विभागले कर छली गर्ने देवांशी सप्लायर्सलाई जरिवाना गरेको हो ।

‘कबाडीको व्यापारमा अप्रत्यारिलो रूपमा कर छली हुँदो रहेछ,’ विभागका महानिर्देशक नारायण सापकोटाले भने, ‘हामीले हालै एउटा गाडीलाई नियन्त्रणमा लिई छानबिन गर्दा धेरै छली गरेको पाइयो ।’

विभागले पहिलेदेखि नै केही कम्पनीमाथि छानबिन गर्दै आएको थियो ।

सामान्य देखिए पनि कबाडीमा करोडौँको कारोबार हुने, तर कर छल्न अस्वाभाविक कम बिलहरू बनाउने गरेको विभागको छानबिनमा देखिएको छ ।

कबाडीका सामान भारत लैजान प्रतिबन्ध भए पनि सुरक्षा निकायकै मिलेमतोमा चोरी तस्करीसमेत हुँदै आएको छ । त्यसउपर पनि छानबिन थालिएको विभागले जनाएको छ । आन्तरिक राजस्व कार्यालयहरूले गरेको छानबिनमा पनि धेरै कम्पनीले १३ प्रतिशत भ्याट नतिर्ने गरेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *