अन्य सबैजसो कार उत्पादकहरुले विद्युतीय कार उत्पादनलाई उच्च प्राथमिकता दिइरहँदा टोयोटा किन मौन छ भन्ने प्रश्न उठ्नु स्वभाविक थियो।
टोयोटाले तत्काललाई हाइब्रिड प्रविधिलाई नै प्राथमिकता दिनुपर्ने जिकिर गर्दै आएकोमा अब भने सोलिड स्टेट ब्याट्रीमार्फत टोयोटा विद्युतीय कार बजारमा आक्रामक हुने भएको छ।
टोयोटाले घोषणा गरेजस्तै एक पटकको फुल चार्जमा १२ सय किलोमिटर रेन्ज दिने र चार्ज गर्ने समय १० मिनेटमात्र हुने हो भने यसले विद्युतीय सवारी उद्योगमा नयाँ मानक स्थापित गर्नेछ।
टोयोटाले सोलिड स्टेट सेल (ब्याट्री)को पेटेन्ट दर्तामा भने छलाङ मारेको छ।
टोयोटाले सोलिडस्टेट सेल ब्याट्रीसँग सम्बन्धित एक हजार ३ सय ३१ वटा पेटेन्ट राइट दर्ता गरेर राखेको छ।
एक अध्ययनअनुसार जापानी कार उत्पादकहरुले सोलिड स्टेट ब्याट्रीबारे १९९० देखि नै अनुसन्धान गर्दै आएका थिए।
टोयोटाले मात्र सोलिड स्टेट ब्याट्रीसँग सम्बन्धित १३ सय ३१ वटा पेटेन्ट दर्ता गराएर राखेको छ।
उक्त पेटेन्ट सेलको स्ट्रक्चर, प्रयोग हुने पदार्थ र सोलिड स्टेट ब्याट्रीका महत्वपूर्ण पक्षहरुसँग सम्बन्धित छन्।
टोयोटा पछि सोलिड स्टेट सेलको पेटेन्ट धेरै दर्ता गर्ने अर्को कम्पनी हो पानासोनिक।
जापानी विद्युतीय सामाग्री उत्पादन गर्ने पानासोनिकले ४ सय ४५ वटा पेटेन्ट दर्ता गराएर राखेको छ।
टोयोटाले सोलिड स्टेट ब्याट्रीसँग सम्बन्धित पेटेन्टको ३३ प्रतिशत आफैले दर्ता गराएको छ।
टोयोटाले सोलिड स्टेट ब्याट्रीमा पानासोनिकसँगको साझेदारीमा ब्याट्री उत्पादन गर्दै आएको छ।
आइ कोसन नामक अर्को कम्पनीले यससँग सम्बन्धित २ सय ७२ वटा पेटेन्ट दर्ता गराएको छ।
त्यस्तै कोरियाली कम्पनीहरु सामसङ र एलजी चेमले पनि पेटेन्ट दर्ता गराएका छन्।
विभिन्न अध्ययनका अनुसार सोलिड स्टेट ब्याट्री अहिलेको लिथियम आयन सेलको तुलनामा चार गुणा बढी महँगो हुनेछ।
तर टोयोटा भने कसरी कम र प्रतिस्पर्धी मूल्यमा सोलिड स्टेट ब्याट्री उत्पादन गरेर विद्युतीय कार कम मूल्यमा बिक्री गर्ने भन्ने ध्याउन्नमा लागेको छ।