१२ सय किलोमिटर रेन्ज दिने कार ल्याउँदै टोयोटा

जापानी कार उत्पादक कम्पनी टोयोटा विद्युतीय कारमा आक्रामक हुने संकेत देखिएको छ।

एक पटकको फुल चार्जमा १२ सय किलोमिटर रेन्ज दिने विद्युतीय कार बजारमा ल्याउने तयारीमा टोयोटा जुटेको छ।

टोयोटाले ल्याउने उक्त विद्युतीय कार सोलिड स्टेट ब्याट्रीमा आधारित हुनेछ।

१२ सय किलोमिटर रेन्ज दिने उक्त सोलिड स्टेट ब्याट्रीयुक्त विद्युतीय कार फुल चार्ज हुन जम्मा १० मिनेट लाग्नेछ।

टेस्लाले विकास गरेको सुपर चार्जरले १५ मिनेट चार्ज गर्दा ३ सय २२ किलोमिटर रेन्ज दिन्छ।

टोयोटाले बजारमा ल्याउन लागेको सोलिड स्टेट ब्याट्रीयुक्त विद्युतीय कार टेस्लाको सुपर चार्जरबाट चार्ज भएभन्दा धेरै रेन्ज दिनेछ।

त्यस्तै टोयोटाले अर्को पुस्ताको विद्युतीय कारका लागि उच्च क्षमताको लिथियम आयन ब्याट्रीको समेत विकास गरिरहेको छ।

टोयोटाले यस्तो कार २०२६ मा बजारमा ल्याउने तयारी गरेको द इकोनोमिक टाइम्सले लेखेको छ।

टोयोटाले यस्तो योजना मंगलबार सार्वजनिक गरेको थियो।

अर्को पुस्ताको विद्युतीय कारले छोटो सयममा फुल चार्ज हुने र एक पटकको फुल चार्जमा करिब १ हजार किलोमिटर रेन्ज दिने टोयोटाले जनाएको छ।

गएको वर्षसम्म विद्युतीय कारप्रति उदासिन भएको आरोप टोयोटामाथि लाग्दै आएको थियो। तर अब भने विद्युतीय कारमा टोयोटा निक्कै आक्रामक हुने देखिएको छ।

अर्को पुस्ताको ब्याट्रीको विकास र सोनिक प्रविधिका कारण विद्युतीय कारको रेन्ज १ हजार किलोमिटर हुने दाबी टोयोटाको छ।

गत वर्ष मर्सिडिज बेन्जले लङ रेन्ज दिने विद्युतीय कार ‘भिजन ईक्यूएक्सएक्स’ कन्सेप्ट सार्वजनिक गरेको थियो।

यो कारले एक पटकको फुल चार्जमा १ हजार किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरिएको थियो। यो नै हालसम्म दाबी गरिएको विद्युतीय कारको सबैभन्दा धेरै रेन्ज थियो।

तर अब भने टोयोटाले सार्वजनिक गर्ने तयारीसहित घोषणा गरेको सोलिड स्टेट ब्याट्रीयुक्त विद्युतीय कारले १२ सय किलोमिटर रेन्ज दिने दाबी गरिएको छ।

मर्सिडिजले २०३० पछि पूर्णविद्युतीय कारमात्र उत्पादन गर्ने योजनासमेत घोषणा गरिसकेको छ।

यता टोयोटा पनि संसारभरका कार निर्माताहरु ब्याट्रीमा आधारित विद्युतीय कारमा लम्किरहेको र उपभोक्ताको ध्यान पनि विद्युतीय कार खरिदतर्फ नै आकर्षिक भएकाले बीईभीमा जान बाध्य भएको हो।

टोयोटा संख्याका आधारमा संसारको सबैभन्दा धेरै कार बिक्री गर्ने कम्पनी हो। त्यसैले पनि आफ्नो बजार हिस्सा बचाइराख्नु पर्ने दबाबमा टोयोटा छ।

बजारको माग र उपभोक्ताको चाहना अनुरुपका उत्पादन ल्याउन सकिएन भने बजारबाट हराइने सैद्धान्तिक पाटो टोयोटाले राम्ररी बुझेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *