ढाका : बङ्गलादेशको सिलेट जिल्लामा बुधबार ट्रक र पिकअप भ्यान एकआपसमा ठोक्किँदा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन्।
सिलेटको दक्षिण सुर्मा प्रहरी चौकीका इन्स्पेक्टर मोहम्मद अबुल हुसेनले दुर्घटनाको पुष्टि गर्दै भने, ‘दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।’
राजधानी ढाकाबाट करिब २४० किलोमिटर उत्तरपूर्वमा रहेको सो जिल्लामा स्थानीय समय अनुसार बिहान ६:०० बजे भएको सडक दुर्घटनामा परी केही मजदुर गम्भीर घाइते भएका छन्।
घाइते सबैलाई स्थानीय अस्पताल र क्लिनिकमा लगिएको र दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको उनले बताए।
बङ्गलादेशमा सडक दुर्घटनाका कारण हुने मृत्युदर विश्वमै सबैभन्दा बढी छ।
कमजोर राजमार्ग, खराब सवारी साधन, चालकहरूले ट्राफिक नियमको उल्लङ्घन गर्नु र ट्राफिक विभागको अनुगमनको कमी हुनु यहाँको दुर्घटनाको मुख्य कारण हुने गरेका छन्।