नेपालमा विद्युतीय गाडीको खपत बर्सेनि बढ्दो छ। चालू आर्थिक वर्षको १० महिनामा ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको विद्युतीय गाडी आयात भएको तथ्यांकले देखाउँछ।
विद्युतीय गाडी २ हजार ९ सय ५५ आयात गर्दा सरकारले २ अर्ब ३० रुपैयाँ भन्सार प्राप्त गरेको छ।
पेट्रोलियम पदार्थबाट चल्ने गाडी आयात बर्सेनि सरदर १ खर्ब रुपैयाँको हुने गरेको बताइन्छ।
नेपालमा महिन्द्राको इटुओ, बीवाईडी, किया निरो, एमजी जेटएस, हुन्डाईको कोना, आयोनिक, टाटाको नेक्सन ईभी, निसानको लिफ लगायतका विद्युतीय गाडी बिक्री वितरण भइरहेका छन्।
यस्तो आयातलाई रोक्न नेपालमा नै विद्युतीय गाडी उत्पादनको विकल्प छैन। गाडी सुविधा भन्दा पनि आवश्यकता बन्दै गएको छ।
तर, नेपालमा नै गाडी उत्पादन गर्ने भनिएको लगानी बोर्ड नेपालको योजना अझै कार्यान्वयन भएको छैन।
२०७६ सालबाट नै अघि बढाइएको भेइकल म्यानुफ्याक्चरिङ एन्ड एसेम्बली प्लान्ट आयोजना सुरु हुन सकिरहेको छैन।
पहिला पेट्रोलियम पदार्थबाट गाडी निर्माण गर्ने भनिकोमा अहिले विद्युतीय गाडी मात्रै उत्पादन गर्ने भनेपछि काम झन् सुस्त भएको छ।
यो आयोजना अन्तर्गत दक्षिण कोरियाली कम्पनी मोटोरेक्स नेपालमा नै विद्युतीय गाडी उत्पादनका लागि आएको कम्पनी हो।
कम्पनीले २०७६ सालमा बोर्ड समक्ष उक्त एसेम्बल प्लान्ट स्थापनाको प्रस्ताव पेस गरेको थियो।
बोर्डको ५१औं बैठकले एसेम्बल प्लान्ट परियोजना विकासका लागि मोट्रेक्स कम्पनीसँग वार्ता प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो।
२०७६ सालमा नै गाडी उत्पादन गर्ने कोरियाली कम्पनीसँग बोर्डले प्रारम्भिक लगानी सम्झौता गरेको थियो। तर, कोभिड लगायतका कारण योजना कार्यान्वयन सम्झौता हुन सकेको छैन।