आर्थिक मन्दीका कारण व्यावसायिक जगत्मा निराशा छाइरहेका वेलामा गोल्छा समूहले नवलपरासीमा सामसङ टेलिभिजनको आधुनिक फ्याक्ट्री सञ्चालनमा ल्याएको छ ।
०८० वैशाखदेखि सञ्चालनमा आएको फ्याक्ट्रीबाट सामसङ टेलिभिजन एसेम्बल भइरहेका छन् ।
त्यसअघि गोल्छा समूहले नै नवलपरासीमा बजाज ब्रान्डका मोटरसाइकल र तीनपांग्रे टेम्पो एसेम्बल गरिरहेको छ।
युवामाझ चर्चित रोयल इन्फिल्डले त्रिवेणी समूहसँगको सहकार्यमा वीरगन्जमा कम्प्लिट्ली नक्ड डाउन (सिकेडी) एसेम्बली प्लान्ट सञ्चालनमा ल्याएको छ ।
यस्तै, शंकर समूहले बाराको सिमरामा टिभिएसको सिकेडी एसेम्बली प्लान्ट सञ्चालनमा ल्याएको तीन वर्ष भइसक्यो । टिभिएसको प्लान्टबाट बाइक, स्कुटर तथा तीनपांग्रे टेम्पो एसेम्बल भइरहेको छ ।
सरकारले एसेम्बल उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएपछि देशभित्र धमाधम एसेम्बली प्लान्ट खुल्न थालेका छन् ।
पेट्रोल र ब्याट्रीबाट चल्ने बाइक, स्कुटरदेखि टेलिभिजनलगायतका इलेक्ट्रोनिक सामान स्वदेशमै एसेम्बल हुने गरेका छन् ।
कोरियन ब्रान्ड हुन्डाईले पनि लक्ष्मी समूहसँगको सहकार्यमा नेपालमै कार एसेम्बली युनिट खोल्न लागेको छ ।
विदेशबाट सिकेडी आयात गरेर नेपालको फ्याक्ट्रीमा एसेम्बल गरी बजारमा पठाउन थालिएको हो ।
नेपालमा अर्बौँ लगानी गर्ने गरी दुई दर्जनभन्दा बढी सिकेडी एसेम्बली प्लान्ट दर्ता भइसकेको उद्योग विभागको तथ्यांक छ । यामाहा र होन्डाले पनि एसेम्बली प्लान्ट खोल्ने काम अगाडि बढाइसकेका छन् ।
नेपाली सडकमा सार्वजनिक यातायात बिजुली बस चलाइरहेको सुन्दर ग्रुपअन्तर्गतको सुन्दर अटो इन्जिनियरिङले आफ्नै ब्रान्ड नेममा विद्युतीय बाइक उत्पादन सुरु गरिसकेको छ ।
धुमबाराहीमा रहेको फ्याक्ट्रीमा उत्पादित ‘गन्तव्य’ बाइक केही दिन अघि सार्वजनिक गरिएको थियो।
आफ्नै मौलिक ब्रान्डमा उत्पादित विद्युतीय बाइक ‘यात्री’ निकै चर्चामा छ । युवामाझ लोकप्रिय यात्रीका ८० वटा बाइक उत्पादन भइसकेका छन्।