२३ जेठ, काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट बनाउने क्रममा विद्युतीय गाडीको कर बढ्ने सूचना नचुहाएको दाबी गरेका छन्।
कर बढ्न सक्छ भन्ने अनुमानमा कसैले गाडी ल्याउँछ भने आफूले जिम्मा लिन नसक्ने उनले बताए।
मंगलबार सांसदहरुले उठाएको प्रश्नको जवाफ दिंदै अर्थमन्त्री महतले आफूले विद्युतीय गाडीको करलाई विवेकपूर्ण मात्र बनाएको दाबी गरे।
हरेक वर्ष बजेट आउने बेला कर बढ्ने सम्भावना हुन सक्छ भन्ने अनुमानमा व्यापारिक घरानाहरुले गाडी ल्याएको हुन सक्ने भन्दै अर्थमन्त्री महतले त्यसलाई सूचना चुहायो नभन्न आग्रह गरे।
उनले विद्युतीय गाडीको करमा आफूले गरेको हेरफेरले मानिसहरु पेट्रोलियम सवारी साधनतिर आकर्षित नहुने दाबी गरे।
पेट्रोलियम सवारीको तुलनामा विद्युतीय सवारी साधनको कर अहिले पनि निकै कम भएको भन्दै उनले अघि भने, ‘यो कर समायोजनले ईभी छाडेर पेट्रोलियम बेसको गाडी किन्न कोही जानेवाला छैन।’