काठमाडौँको नागढुङगामा गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने ८ जना चालकसहित १३ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आएका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलीले हिजो शंकास्पद मध्ये २० वटा सवारी साधन चेक गर्दा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ८ जना चालक र सवारी साधनमा सवार ५ जना यात्रु फेला पारेको थियो ।
सवारी साधनका चालकले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि. एच. सि. किटको प्रयोग गरी गत साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको हो ।
लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने चालक मध्ये भाडाका सवारी साधनका चालकहरुको संख्या धेरै रहेकाले यात्रु बोक्ने जस्तो संवेदनशील सवारी चालकले नै लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा निन्दनीय कार्य भएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनुभयो ।
यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभई यात्रुहरूको जीवन समेत जोखिममा पर्ने भएकाले आफू सवार सवारी साधनका चालकले लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय , ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गरिएको छ ।
अभियान सुरू भएदेखी हालसम्म १ सय २७ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागी सम्बन्धित प्रहरी कार्यालयहरूमा पठाइसकेको छ ।