तातोपानी(सिन्धुपाल्चोक) — ०७२ को विनाशकारी भूकम्प गएको सात वर्षदेखि आयात मात्र भइरहेको भोटेकाशी गाउँपालिका–२ बाट चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट मुढासहित अन्य हस्तकलाका सामाग्री तीन कन्टेनरमा पठाएर निर्यात खोलिएको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार यसअघि भएको मौखिक सहमतिअनुरुप सोमबार मितेरी पुलमा चीन र नेपालका सीमाक्षेत्रका सुरक्षाकर्मीको अनौपचारिक उपस्थितिमा तीन कन्टेनर पठाएर निर्यात खुलाइएको हो ।
भूकम्प र पराकम्पनले नाका बन्द हुनुअघि यही नाकाबाट हस्तकला, वनस्पति, जडीबुडी, चाउचाउजस्ता एक सय ८२ प्रकारका सामग्री निर्यात हुने गर्थे ।
‘अहिले तत्काललाई तीन कन्टेनर चीनको खासा र ल्हासाक्षेत्र पुग्न लिपिङबाट मितेरी पुल पार गरेका छन्, आजबाट नाकाबाट निर्यात खुलाइएको छ, दुवैतर्फ कन्टेनर आउजाउ चलेको छ,’ प्रजिअ न्यौपानेले भने ।