काठमाडौँ — पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आयोजना सुरु भएको १५ वर्ष भयो । यस अवधिमा निर्माण, अध्ययन र मुआब्जामा मात्र २८ अर्ब ४६ करोड ३४ लाख रुपैयाँ खर्च भयो । तर अहिलेसम्म रेल गुड्ने ट्र्याकबेल्ट निर्माण पनि सकिएको छैन ।
भरपर्दो रेल यातायात प्रणाली विकास गर्ने, रेल सेवासम्बन्धी अनुसन्धान र विकास गर्ने र सेवा विस्तार गर्न सम्भाव्य ठाउँहरूको अध्ययन गर्ने उद्देश्यले ०६८ मा रेल विभाग स्थापना भएको हो ।
यो विभाग मातहत रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजना सञ्चालनमा छ । यसलाई गौरवको आयोजनाका रूपमा राखिएको छ । यही आयोजनाअन्तर्गत अहिले रेलमार्ग निर्माण र अध्ययनको काम अघि बढाइएको हो ।
अहिलेसम्म भारतीय सीमा नाका जोड्नेसहित ११६ किमि मात्र ट्र्याकबेल्ट निर्माण गरिएको छ । ०७९ असार मसान्तसम्म जयनगर–जनकपुर–बिजलपुरासम्म ५१, जोगबनी–बथनाह–विराटनगरसम्म १० र बर्दिबास–निजगढ खण्डमा ५५ किमि ट्र्याकबेल्ट बनेको छ ।
अहिलेसम्म जयनगर–जनकपुर–कुर्थासम्मको ३५ किमि दूरीमा मात्र रेल सञ्चालनमा छ । बर्दिबास–निजगढ खण्डको कुल दूरी भने ७० किमि हो, जहाँ ट्र्याकबेल्ट र पुल निर्माण सुस्त छ । समग्र आयोजनाको खर्च साढे २८ अर्ब रुपैयाँ रहेको रेल विभागका महानिर्देशक रोहित बिसुराल बताउँछन् ।