आगामी जेठ पहिलो साताबाट भारततर्फ विद्युत् निर्यात हुने भएको छ । सुक्खा यामका कारण स्वदेशी उत्पादन कम हुँदा अहिले भारतबाट नै विद्युत् आयात भइरहेको छ ।
अब गर्मीमा हिउँ पग्लिएर खोलामा पानीको बहाब बढ्छ । साथै, प्रिमनसुनको सिजनमा पानी पर्न थालेपछि सिँचाइतर्फ हुने विद्युत्को खपत हट्छ ।
त्यस अवस्थामा जेठ पहिलो साताबाट विद्युत् निर्यात सुरु हुन सक्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘गत वर्ष जेठको १६ गतेबाट विद्युत् निर्यात सुरु भएको थियो । यो वर्ष पनि जेठको पहिला साताबाट विद्युत् निर्यात हुने अनुमान छ,’ उनले भने, ‘यति नै भन्ने त हुँदैन । थोरै मात्रामा भए पनि विद्युत् निर्यात हुन्छ ।’
यो वर्ष करिब १२ सय मेगावाट विद्युत् निर्यात हुने उनले बताए । उनका अनुसार निर्यात अनुमतिको स्वीकृतिका लागि भारतीय निकायहरूमा आयोजनाहरूको सूची पठाइसकेको छ ।
भारतले आफ्नो देशमा चार सय ५२ मेगावाट विद्युत् बिक्री गर्न अनुमति दिइसकेको छ । अहिले चार सय ५६ मेगावाटको अपर तामाकोसीसहितका आयोजनाको स्वीकृतिका लागि प्रस्ताव पठाएको बताइएको छ ।