नगरपालिकाको गाडीले किचेर बालकको मृत्यु

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको गाडीले ठक्कर दिँदा चार वर्षीय बालकको ज्यान गएको छ ।

आइतबार मध्यविन्दु १५ वडा कार्यालयनजिकै मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने बा. २ झ २३१२ नम्बरको गाडीले स्थानीय चार वर्षीय आदित्य माझीलाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक भुवनेश्वर तिवारीका अनुसार त्यसवेला गाडीमा प्रमुख प्रशासकीय अधिकृत थिएनन् । घटनापछि गाडीचालक कृष्णप्रसाद भण्डारी र गाडी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

नगरपालिका र प्रदेश सरकारको साझेदारी कार्यक्रम नवप्रवर्द्धन कार्यक्रम तथा नगरपालिकाको अन्य योजना तथा कार्यक्रमको अनुगमन गर्न मध्यविन्दु १५ का वडाध्यक्ष यमबहादुर केसीसहितका कर्मचारीहरू जाँदै गर्दा दुर्घटना भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानप्रसाद पनेरूले बताए ।

घटनापछि केहीबेर घटनास्थल तनावग्रस्त भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *