अञ्जन श्रेष्ठ – अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी, संयुक्त उद्यम तथा व्यावसायिक सहकार्यका अवसर उपयोग गर्दै साझा आर्थिक समृद्धिको यात्रामा सहभागी हुन आह्वान गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको विदेश भ्रमणका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघको संयुक्त आयोजनामा नयाँ दिल्लीमा आयोजित नेपाल–भारत आर्थिक तथा व्यावसायिक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नेपाल लगानीका लागि खुला रहेको बताए ।


उनले नेपाल–भारत सम्बन्धलाई व्यापार, लगानी र आर्थिक सहकार्यका माध्यमबाट नयाँ उचाइमा पुर्याउनुपर्नेमा जोड दिए ।
भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीको प्रमुख स्रोत रहेको उल्लेख गर्दै उनले गत वर्ष दुई देशबीच करिब ९ अर्ब ४० करोड अमेरिकी डलर बराबरको व्यापार भएको जानकारी दिए ।

नेपालको कुल निर्यातको ८० प्रतिशतभन्दा बढी भारततर्फ हुने गरेको र कुल वैदेशिक प्रत्यक्ष लगानीमा भारतीय लगानीको हिस्सा करिब एकतिहाइ रहेको उनले बताए ।
नेपालले गत वर्ष भारत र बंगलादेशमा विद्युत् बिक्री गरी २९ अर्ब रुपैयाँ आम्दानी गरेको र अघिल्लो वर्षको तुलनामा यस्तो आम्दानी ६८ प्रतिशतले वृद्धि भएको पनि उनले जानकारी दिए ।
यति घनिष्ठ आर्थिक सम्बन्ध हुँदाहुँदै पनि नेपालमा भारतीय निजी क्षेत्रको लगानी अपेक्षाअनुसार आउन नसकेको अध्यक्ष श्रेष्ठको भनाइ थियो ।
नेपालमा लगानीको वातावरण सुधार गर्न सरकारले नीतिगत तथा कानुनी सुधार अघि बढाएको उल्लेख गर्दै उनले विदेशी लगानीका लागि १०२ उद्योगमा स्वचालित स्वीकृतिको व्यवस्था र एकद्वार सेवा केन्द्र सञ्चालन गरिएको बताए ।
साथै, ५९ वटा ऐनका करिब ५०० दफामा संशोधन प्रक्रिया अघि बढाइएको जानकारी दिँदै उनले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरे । उनले सरकारले लगानीका लागि आवश्यक नीतिगत तथा कानुनी सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दै लगानीसम्बन्धी कानुनलाई सरल र लगानीमैत्री बनाउँदै लगिएको बताए ।
नेपालमा लगानी गरिरहेका भारतीय लगानीकर्तालाई थप लगानी विस्तार गर्न आग्रह गर्दै उनले लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्ताको कानुनी सहजीकरणका लागि सरकारले विशेष पहल गरिरहेको जानकारी दिए ।

भारतीय उद्योग राज्यमन्त्री जितिन प्रसादले नेपाल–भारत सम्बन्ध, व्यापार र लगानीबारे चर्चा गर्दै नेपालको आर्थिक विकासमा भारत सधैँ सकारात्मक रहेको बताए ।
उनले भारतीय लगानीकर्ताका लागि नेपालका विभिन्न क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गरे ।
अध्यक्ष श्रेष्ठले नेपाल–भारत आर्थिक साझेदारी विस्तारका लागि व्यापार, पारवहन, सम्पर्क सञ्जाल, पूर्वाधार, ऊर्जा, लगानी र प्रविधि गरी सात क्षेत्रमा सहकार्य आवश्यक रहेको बताए ।

नेपाली उत्पादनको भारतीय बजारमा पहुँच विस्तार, दुवै देशका गुणस्तर प्रमाणीकरण निकायबीच पारस्परिक मान्यता कायम, भारतीय बन्दरगाह तथा रेल सेवाको प्रभावकारी उपयोग र भैरहवा, नेपालगञ्ज तथा दोधारा–चाँदनीलाई व्यापारिक तथा ढुवानी केन्द्रका रूपमा विकास गर्नुपर्ने उनको सुझाव थियो ।
त्यसैगरी, अयोध्या–जनकपुर रेल सेवा सञ्चालन, सीमावर्ती जाँच चौकीसम्म रेल सम्पर्क विस्तार, भैरहवा र पोखरामा थप हवाई उडान तथा डिजिटल भुक्तानी प्रणालीको विस्तार आवश्यक रहेको उनले बताए ।
द्रुतमार्ग, विमानस्थल, औद्योगिक पार्क र सहरी पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारीलाई प्रोत्साहन गर्नुपर्नेमा पनि उनले जोड दिए ।
नेपालमा ४० हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादनको सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले नेपाल–भारतबीच आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापार गर्ने सहमति कार्यान्वयन गर्नुपर्ने बताए ।
पर्यटन, कृषि प्रशोधन, औषधि, सिमेन्ट र सूचना प्रविधिजस्ता सम्भावनायुक्त क्षेत्रमा भारतीय लगानी विस्तार गर्नुपर्नेमा जोड दिँदै उनले संयुक्त लगानीमार्फत प्रविधि हस्तान्तरण र नेपाली जनशक्तिको क्षमता विकासमा सहकार्य गर्न भारतीय निजी क्षेत्रलाई आग्रह गरे ।
नेपाल–भारत व्यापार तथा लगानी विस्तारका लागि सुरक्षित र व्यवस्थित सीमा प्रणाली तथा लगानी सुरक्षाको प्रत्याभूति आवश्यक रहेको अध्यक्ष श्रेष्ठले बताए ।
कार्गो अनुगमन, सिलबन्दी र समयमै भन्सार जाँचपास सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै उनले नेपाल सरकारले अघि बढाएको निजी लगानी संरक्षण तथा प्रवद्र्धन रणनीतिले कम्तीमा पाँच वर्षसम्म नीतिगत स्थिरता तथा लगानीको कानुनी र भौतिक सुरक्षा सुनिश्चित गर्ने जानकारी दिए ।
अध्यक्ष श्रेष्ठले नेपाली उद्योगले भारतीय बजारमा भोगिरहेका जुट, स्टिल तथा भारतीय मानक ब्युरोको प्रमाणीकरणसम्बन्धी समस्या पनि उठाए ।
नेपाली जुट उत्पादनमा भारतले लगाउँदै आएको एन्टी डम्पिङ शुल्क तथा प्रस्तावित प्रतिकारात्मक शुल्कले पूर्वी नेपालका हजारौँ किसान र श्रमिकको रोजगारीमा असर पार्ने उनले बताए ।

