काठमाडाैं। भारतमा हुन्डाई क्रेटा इलेक्ट्रिकका १५० जना गाडीधनीले ब्याट्रीमा १५ वर्षसम्म किलोमिटरको कुनै सीमा नराखी वारेन्टी उपलब्ध गराउन माग गरेका छन् । उनीहरूले हुन्डाई मोटर इन्डियालाई निवेदन पठाउँदै नयाँ ग्राहकसँगै यसअघि नै गाडी खरिद गरिसकेका धनीलाई समेत यस्तो सुविधा दिन आग्रह गरेका हुन् ।
गत सेप्टेम्बर २९ मा कम्पनीलाई पठाइएको निवेदनमा ब्याट्रीसँगै अनबोर्ड चार्जर र चार्जिङ नियन्त्रण गर्ने युनिटलाई पनि १५ वर्षे वारेन्टीमा समेट्नुपर्ने माग गरिएको छ । गाडीधनीका अनुसार हाल कम्पनीले क्रेटा इलेक्ट्रिकको ब्याट्रीमा आठ वर्ष वा एक लाख ६० हजार किलोमिटरमध्ये जुन अवधि पहिले पूरा हुन्छ, त्यतिसम्म मात्र वारेन्टी दिँदै आएको छ ।
निर्धारित वारेन्टी अवधि समाप्त भएपछि ब्याट्री वा त्यससँग सम्बन्धित विद्युतीय उपकरणमा समस्या आएमा मर्मत तथा प्रतिस्थापनमा ठूलो रकम खर्चिनुपर्ने जोखिम रहेको उनीहरूको भनाइ छ । विद्युतीय गाडीको सबैभन्दा महँगो हिस्सामध्ये ब्याट्री पर्ने भएकाले यसको वारेन्टी अवधि बढाउनुपर्ने माग उनीहरूले अघि सारेका हुन् ।
१५ वर्षे वारेन्टीको प्रस्ताव राख्दा गाडीधनीले किया इन्डियाको अभ्यासलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । निवेदनमा उल्लेख भएअनुसार कियाले आफ्ना केही विद्युतीय गाडीमा पहिलोपटक दर्ता गर्ने धनीलाई किलोमिटरको सीमा नराखी १५ वर्षसम्म ब्याट्री वारेन्टी उपलब्ध गराउँदै आएको छ ।
यसअघि नै क्रेटा इलेक्ट्रिक खरिद गरिसकेका ग्राहकलाई पनि गाडीको प्राविधिक परीक्षण गराएर सामान्य शुल्कमा वारेन्टी अवधि थप्न पाउने व्यवस्था गर्न उनीहरूले सुझाव दिएका छन् । यसले पुराना ग्राहकलाई समेत नयाँ ग्राहकसरह सुविधा प्राप्त गर्ने अवसर दिने उनीहरूको अपेक्षा छ ।
गाडीधनीले वारेन्टीसम्बन्धी अन्य व्यवस्था पनि स्पष्ट पार्न कम्पनीसँग माग गरेका छन् । ब्याट्रीको क्षमता कति प्रतिशत घटेपछि वारेन्टी दाबी गर्न सकिने, दाबी प्रक्रिया कस्तो हुने र गाडी बिक्री गर्दा थपिएको वारेन्टी नयाँ धनीमा हस्तान्तरण गर्न मिल्ने वा नमिल्ने विषय स्पष्ट गर्नुपर्ने उनीहरूको आग्रह छ ।
सेप्टेम्बरमा पठाइएको निवेदनबारे नोभेम्बर २० मा थप समाचार सार्वजनिक भए पनि हुन्डाई मोटर इन्डियाले अहिलेसम्म १५ वर्षे वारेन्टीको माग स्वीकार गरेको औपचारिक जानकारी दिएको छैन ।