भारतीय निजी क्षेत्रको लगानी अपेक्षाअनुसार आउन नसकेको

अञ्जन श्रेष्ठ – अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी, संयुक्त उद्यम तथा व्यावसायिक सहकार्यका अवसर उपयोग गर्दै साझा आर्थिक समृद्धिको यात्रामा सहभागी हुन आह्वान गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको विदेश भ्रमणका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघको संयुक्त आयोजनामा नयाँ दिल्लीमा आयोजित नेपाल–भारत आर्थिक तथा व्यावसायिक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नेपाल लगानीका लागि खुला रहेको बताए ।

उनले नेपाल–भारत सम्बन्धलाई व्यापार, लगानी र आर्थिक सहकार्यका माध्यमबाट नयाँ उचाइमा पुर्याउनुपर्नेमा जोड दिए ।

भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीको प्रमुख स्रोत रहेको उल्लेख गर्दै उनले गत वर्ष दुई देशबीच करिब ९ अर्ब ४० करोड अमेरिकी डलर बराबरको व्यापार भएको जानकारी दिए ।

नेपालको कुल निर्यातको ८० प्रतिशतभन्दा बढी भारततर्फ हुने गरेको र कुल वैदेशिक प्रत्यक्ष लगानीमा भारतीय लगानीको हिस्सा करिब एकतिहाइ रहेको उनले बताए ।

नेपालले गत वर्ष भारत र बंगलादेशमा विद्युत् बिक्री गरी २९ अर्ब रुपैयाँ आम्दानी गरेको र अघिल्लो वर्षको तुलनामा यस्तो आम्दानी ६८ प्रतिशतले वृद्धि भएको पनि उनले जानकारी दिए ।

यति घनिष्ठ आर्थिक सम्बन्ध हुँदाहुँदै पनि नेपालमा भारतीय निजी क्षेत्रको लगानी अपेक्षाअनुसार आउन नसकेको अध्यक्ष श्रेष्ठको भनाइ थियो ।

नेपालमा लगानीको वातावरण सुधार गर्न सरकारले नीतिगत तथा कानुनी सुधार अघि बढाएको उल्लेख गर्दै उनले विदेशी लगानीका लागि १०२ उद्योगमा स्वचालित स्वीकृतिको व्यवस्था र एकद्वार सेवा केन्द्र सञ्चालन गरिएको बताए ।

साथै, ५९ वटा ऐनका करिब ५०० दफामा संशोधन प्रक्रिया अघि बढाइएको जानकारी दिँदै उनले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरे । उनले सरकारले लगानीका लागि आवश्यक नीतिगत तथा कानुनी सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दै लगानीसम्बन्धी कानुनलाई सरल र लगानीमैत्री बनाउँदै लगिएको बताए ।

नेपालमा लगानी गरिरहेका भारतीय लगानीकर्तालाई थप लगानी विस्तार गर्न आग्रह गर्दै उनले लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्ताको कानुनी सहजीकरणका लागि सरकारले विशेष पहल गरिरहेको जानकारी दिए ।

भारतीय उद्योग राज्यमन्त्री जितिन प्रसादले नेपाल–भारत सम्बन्ध, व्यापार र लगानीबारे चर्चा गर्दै नेपालको आर्थिक विकासमा भारत सधैँ सकारात्मक रहेको बताए ।

उनले भारतीय लगानीकर्ताका लागि नेपालका विभिन्न क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गरे ।

अध्यक्ष श्रेष्ठले नेपाल–भारत आर्थिक साझेदारी विस्तारका लागि व्यापार, पारवहन, सम्पर्क सञ्जाल, पूर्वाधार, ऊर्जा, लगानी र प्रविधि गरी सात क्षेत्रमा सहकार्य आवश्यक रहेको बताए ।

नेपाली उत्पादनको भारतीय बजारमा पहुँच विस्तार, दुवै देशका गुणस्तर प्रमाणीकरण निकायबीच पारस्परिक मान्यता कायम, भारतीय बन्दरगाह तथा रेल सेवाको प्रभावकारी उपयोग र भैरहवा, नेपालगञ्ज तथा दोधारा–चाँदनीलाई व्यापारिक तथा ढुवानी केन्द्रका रूपमा विकास गर्नुपर्ने उनको सुझाव थियो ।

त्यसैगरी, अयोध्या–जनकपुर रेल सेवा सञ्चालन, सीमावर्ती जाँच चौकीसम्म रेल सम्पर्क विस्तार, भैरहवा र पोखरामा थप हवाई उडान तथा डिजिटल भुक्तानी प्रणालीको विस्तार आवश्यक रहेको उनले बताए ।

द्रुतमार्ग, विमानस्थल, औद्योगिक पार्क र सहरी पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारीलाई प्रोत्साहन गर्नुपर्नेमा पनि उनले जोड दिए ।

नेपालमा ४० हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादनको सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले नेपाल–भारतबीच आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापार गर्ने सहमति कार्यान्वयन गर्नुपर्ने बताए ।

पर्यटन, कृषि प्रशोधन, औषधि, सिमेन्ट र सूचना प्रविधिजस्ता सम्भावनायुक्त क्षेत्रमा भारतीय लगानी विस्तार गर्नुपर्नेमा जोड दिँदै उनले संयुक्त लगानीमार्फत प्रविधि हस्तान्तरण र नेपाली जनशक्तिको क्षमता विकासमा सहकार्य गर्न भारतीय निजी क्षेत्रलाई आग्रह गरे ।

नेपाल–भारत व्यापार तथा लगानी विस्तारका लागि सुरक्षित र व्यवस्थित सीमा प्रणाली तथा लगानी सुरक्षाको प्रत्याभूति आवश्यक रहेको अध्यक्ष श्रेष्ठले बताए ।

कार्गो अनुगमन, सिलबन्दी र समयमै भन्सार जाँचपास सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै उनले नेपाल सरकारले अघि बढाएको निजी लगानी संरक्षण तथा प्रवद्र्धन रणनीतिले कम्तीमा पाँच वर्षसम्म नीतिगत स्थिरता तथा लगानीको कानुनी र भौतिक सुरक्षा सुनिश्चित गर्ने जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले नेपाली उद्योगले भारतीय बजारमा भोगिरहेका जुट, स्टिल तथा भारतीय मानक ब्युरोको प्रमाणीकरणसम्बन्धी समस्या पनि उठाए ।

नेपाली जुट उत्पादनमा भारतले लगाउँदै आएको एन्टी डम्पिङ शुल्क तथा प्रस्तावित प्रतिकारात्मक शुल्कले पूर्वी नेपालका हजारौँ किसान र श्रमिकको रोजगारीमा असर पार्ने उनले बताए ।

त्यस्तै, भारतले नेपाली स्टिलमा सुरक्षात्मक शुल्क लागू गरेपछि गत आर्थिक वर्षमा भारततर्फको नेपाली स्टिल निर्यात ६० प्रतिशतभन्दा बढीले घटेको उनले जानकारी दिए ।

भारतीय मानक ब्युरोको प्रमाणीकरण प्रक्रिया सहज हुँदै गएकोमा भारतलाई धन्यवाद दिँदै अध्यक्ष श्रेष्ठले प्रमाणपत्र नवीकरणमा हुने ढिलाइ र कच्चा पदार्थको प्रमाणीकरणसम्बन्धी जटिलता भने अझै कायम रहेको बताए ।

यी समस्या समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघबीच व्यापार उपचार तथा गुणस्तर मापदण्डसम्बन्धी संयुक्त कार्यदल गठन गरी दुवै देशका सरकारसमक्ष साझा सुझाव पेस गर्न उनले प्रस्ताव गरे ।

नेपालले भारतबाट ठूलो परिमाणमा वस्तु आयात गर्ने भएकाले नेपाली उद्योगको विकासले भारतीय उद्योगका लागि समेत थप बजार सिर्जना गर्ने अध्यक्ष श्रेष्ठले बताए ।

भारतले सन् २०४७ सम्म विकसित राष्ट्र बन्ने लक्ष्य लिएको र नेपालले आगामी पाँचदेखि सात वर्षभित्र १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र निर्माण तथा प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको उल्लेख गर्दै उनले दुवै देशका आर्थिक लक्ष्य हासिल गर्न निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *