वीरगन्ज महानगरपालिकासहित पर्सा र बाराका चार पालिकालाई जोडेर नगर बस सञ्चालन गर्ने तयारी गरिएको छ । महानगरपालिकाले मङ्सिरभित्रै सेवा सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक प्रक्रिया अघि बढाएको जानकारी गराएको छ ।
सहायक सडक तथा ग्रामीण बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्दै अन्तरपालिका आवागमन सहज र सुलभ बनाउने उद्देश्यले नगर बस सञ्चालन गर्न लागिएको वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिए।
नगर बस सेवालाई दिगो र व्यवस्थित बनाउन चारवटै पालिकाको सहभागितामा रु एक करोडको एकीकृत सञ्चालन कोष स्थापना गर्ने निर्णय भएको उनले बताए । कोषमा वीरगन्ज महानगरपालिकाले रु ४० लाख, जितपुरसिमरा उपमहानगरपालिकाले रु ३० लाख, कलैया उपमहानगरपालिकाले रु २५ लाख र परवानीपुर गाउँपालिकाले रु पाँच लाख योगदान गर्नेछन् ।
नगर बस सञ्चालनको सम्भाव्यता अध्ययन तथा आवश्यक तयारीका लागि चारवटै पालिकाका प्रतिनिधि सम्मिलित कार्यदलले तयार पारेको प्रतिवेदन आवश्यक संशोधनसहित पारित भइसकेको महानगरपालिकाले जनाएको छ ।