काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ अटोमोबाइल कम्पनीहरूले अमेरिकामै उत्पादन सुरु गरे विद्युतीय गाडी बिक्रीका लागि बाटो खुला गर्ने संकेत दिएका छन्।
फक्स न्युजको इन्ग्राम एंगल कार्यक्रममा बोल्दै ट्रम्पले चिनियाँ कम्पनीहरूले अमेरिकामा कारखाना स्थापना गरी स्थानीयलाई रोजगारी उपलब्ध गराए आफूलाई आपत्ति नहुने बताए। तर, मेक्सिकोमा उत्पादन गरेर व्यापारिक प्रावधान छल्दै अमेरिकी बजारमा गाडी भित्र्याउने कार्य स्वीकार्य नहुने उनको भनाइ थियो।
हाल अमेरिकी नीतिका कारण चिनियाँ ईभी ब्रान्डहरूका लागि बजार प्रवेश चुनौतीपूर्ण छ। चीनबाट आयात हुने गाडीमा १०० प्रतिशत भन्सार महसुल लागू छ। त्यस्तै, चिनियाँ प्रविधि प्रयोग भएका सवारीसाधनमा लगाइएका प्रतिबन्धले पोलस्टारजस्ता ब्रान्डलाई समेत असर पारेको छ।
चिनियाँ गाडीमाथि थप कडाइ गर्न अमेरिकी राजनीतिज्ञहरूले कानुनी पहल गरिरहेका छन्। यसैबीच, अमेरिकी यातायात मन्त्रालयले मिशिगनस्थित ब्याट्री प्लान्टका लागि चिनियाँ कम्पनी क्याटलसँग प्रविधि सम्झौता गरेको विषयमा फोर्डको आलोचना गरेको थियो।