हालैको भोटेकोशी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको राहत तथा पुनः स्थापनाका लागि पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा) ले १ लाख २१ हजार ४६ रुपैयाँ सङ्कलन गरेको छ।

विपत्तिमा परेका नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले वाडाले सञ्चालन गरेको राहत अभियानमा संस्थाका पूर्व अध्यक्ष, सल्लाहकार, पदाधिकारी, कार्यसमिति सदस्य र व्यवसायीहरूले यो रकम जुटाएका हुन्।
उक्त रकम कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङमार्फत् प्रधानमन्त्री राहत कोषमा पठाइएको छ ।

विपत्तिको समयमा गरिएको सानोभन्दा सानो सहयोगले पनि पीडित परिवारको जीवनमा ठूलो आशा र राहत ल्याउन सक्छ,’ संस्थाका कोषाध्यक्ष अशोक चालिसेले भने, ‘हाम्रा व्यवसायी साथीहरूले व्यावसायिक व्यस्तताका बीच पनि मानवीय भावना र सामाजिक उत्तरदायित्व दर्साउनुभएको छ।’
राहत अभियानमा सहभागी भई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति संस्थाले आभार तथा कृतज्ञता व्यक्त गरेको छ।
