युरोपेली कार बजारमा चिनियाँ अटोमोबाइल ब्रान्डले पहिलोपटक पूर्ण त्रैमासिक अवधिमा जापानी ब्रान्डलाई उछिनेका छन्। ब्लुमबर्गले डेटाफोर्सको तथ्यांक उद्धृत गर्दै सार्वजनिक गरेको विवरणअनुसार, सन् २०२६ को जुलाईदेखि सेप्टेम्बरसम्मको तीन महिनामा चिनियाँ ब्रान्डले युरोपेली बजारको १२.७ प्रतिशत हिस्सा ओगटेका छन्। सोही अवधिमा जापानी ब्रान्डको बजार हिस्सा ११.९ प्रतिशत रहेको छ।
चिनियाँ ब्रान्डका सवारीसाधनको दर्ता अघिल्लो वर्षको सोही अवधिको तुलनामा झन्डै दोब्बर भएको छ। सेप्टेम्बरमा मात्रै चिनियाँ ब्रान्डको बजार हिस्सा बढेर कीर्तिमानी १४.५ प्रतिशत पुगेको तथ्यांकमा उल्लेख छ।
विशेषगरी हाइब्रिड सवारीसाधनप्रति उपभोक्ताको आकर्षण बढ्नु तथा बीवाईडी र चेरीजस्ता कम्पनीले युरोपमा आफ्नो बजार विस्तार गर्नुले चिनियाँ ब्रान्डको वृद्धि थप बलियो बनेको देखिन्छ।
पाँच वर्षअघि युरोपेली कार बजारमा चिनियाँ ब्रान्डको हिस्सा करिब १ प्रतिशत मात्रै थियो। त्यसको तुलनामा जापानी उत्पादकहरूले युरोपमा दशकौँदेखि व्यवसाय गर्दै आएका छन्।
टोयोटाले सन् १९६३ देखि युरोपमा कार बिक्री सुरु गरेको थियो भने निसानले सन् १९८६ देखि बेलायतमा सवारीसाधन उत्पादन गर्दै आएको छ। लामो समयदेखि स्थापित जापानी ब्रान्डलाई छोटो अवधिमै चिनियाँ कम्पनीले बजार हिस्सामा उछिन्नु युरोपेली अटो बजारमा आएको परिवर्तनको संकेत हो।
चिनियाँ ब्रान्डको विस्तारसँगै युरोपेली अटो निर्मातामाथि प्रतिस्पर्धात्मक दबाब बढेको छ। फक्सवागन र बीएमडब्ल्यूजस्ता कम्पनीले चीनमै स्थानीय ब्रान्डबाट कडा प्रतिस्पर्धा सामना गरिरहेका छन्।
अर्कोतर्फ, चीनको घरेलु बजारमा माग कमजोर हुन थालेपछि त्यहाँका उत्पादकले विदेशी बजारमा आफ्नो उपस्थिति बढाउने रणनीति अपनाएका छन्। युरोपेली बजार चिनियाँ कम्पनीका लागि बिक्री विस्तार गर्ने प्रमुख गन्तव्य बनेको छ।