दाङमा पहिलोपटक राइड सेयरिङ प्लेटफर्म ‘दाङ ई – ड्राइभ प्रालि’ ले औपचारिक रूपमा सेवा सञ्चालन गरेको छ। शुक्रबार सेवाको उद्घाटन गरिएको हो। सेवा उद्घाटनअघि कम्पनीले भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको थियो।
त्यसपछि नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशका पूर्वउद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले दाङको पहिलो राइड सेयरिङ सेवा उद्घाटन गरे। ठूला सहरमा राइड सेयरिङ सेवाप्रति सर्वसाधारणको आकर्षण बढिरहेको उल्लेख गर्दै उनले पश्चिम क्षेत्रमा दाङबाट सुरु भएको सेवाले यात्रुको सुविधा र सुरक्षालाई विशेष प्राथमिकता दिनुपर्ने बताए।
कार्यक्रममा त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाल, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रालिका सञ्चालक बिनिल केसी, संघका पूर्वअध्यक्ष विमल रिजाल, दाङ भ्याली अटो यातायात प्रालिका अध्यक्ष महेन्द्र महरा, नेपाली कांग्रेसका नेता सुरेन्द्र खड्का र रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीलगायतले शुभकामना दिएका थिए।
स्थानीय युवाको लगानीमा पठाओको सहकार्यमा सुरु भएको ई-ड्राइभ सेवाले रोजगारी सिर्जनासँगै जिल्लाको यातायात क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। प्रालिका अनुसार हाल ११ वटा सीजी मोटर्सका विद्युतीय कार, १० वटा मोटरसाइकल र आठ वटा अटोसहित सेवा सञ्चालन भइरहेको छ। सीजी मोटर्सका विद्युतीय कारको बजार मूल्य प्रतिगोटा करिब ५८ लाख रुपैयाँ रहेको बताइएको छ।
‘दाङ ई – ड्राइभ प्रालि’ तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसी, प्रहरी अधिकारीका परिवार, यातायात व्यवसायी, अस्पताल क्षेत्रका व्यक्तिलगायत ११ जनाको सहकार्यमा सञ्चालनमा आएको हो।