कियाले आफ्नो फ्ल्यागशिप थ्री रो एसयूभी सोरेन्टोलाई भारतीय बजारमा सार्वजनिक गरेको छ। कम्पनीले यसको मूल्य २७ लाख ९९ हजार र टप भेरिएन्टको मूल्य ४० लाख १९ हजार भारु निर्धारण गरको छ ।
नयाँ सोरेन्टो अन्तर्राष्ट्रिय बजारमा बिक्री हुँदै आएको चौथो पुस्ताको एमक्यू४ मोडलको फेसलिफ्ट भर्सन हो। कम्पनीले यसलाई एचटीई, एचटीई (ओ), एचटीके, एचटीके (ए), एचटीएक्स र एचटीएक्स (ए) गरी ६ वटा ट्रिममा उपलब्ध गराएको छ।
सो एसयूभीमा टर्बो पेट्रोल इन्जिनसँग स्ट्रङ हाइब्रिड प्रविधि जडान गरिएको छ । यसमा १.६ लिटरको टर्बोपेट्रोल इन्जिन जडान गरिएको छ जसले १८० हर्सपावर र २६५ एनएम टर्क उत्पादन गर्ने कम्पनीको दाबी छ । साथै यसलाई ६५ हर्सपावर र २६४ एनएम टर्क उत्पादन गर्ने इलेक्ट्रिक मोटरसँग जोडिएको छ। हाइब्रिड पावरट्रेनमा ६ स्पिड अटोमेटिक गियरबक्स प्रयोग गरिएको छ। यो अगाडिको दुई पाङ्ग्रा चल्ने र चारै पाङ्ग्रा चल्ने दुवै विकल्पमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
नयाँ सोरेन्टो २.२ लिटरको डिजेल इन्जिन पनि उपलब्ध गराएको छ। सो इन्जिनले १९३ हर्सपावर र ४४२ एनएम टर्क उत्पादन गर्छ। डिजेल इन्जिनलाई ८ स्पिड ड्युअल क्लच अटोमेटिक गियरबक्ससँग जोडिएको छ। एसयूभीमा नर्मल, इको, स्पोर्ट र स्मार्ट गरी ४ वटा ड्राइभिङ मोड र स्नो, स्यान्ड र मड गरी ३ वटा टेरेन मोड दिइएको छ।
सोरेन्टोको फ्रन्ट डिजाइनमा एलईडी हेडलाइट, वाई आकारका एलईडी डेटाइम रनिङ लाइट, ड्युअल एलईडी फग ल्याम्प र सिल्भर स्किड प्लेट समावेश गरिएको छ । साइडमा १९ इन्चका ड्युअल टोन अलोय ह्विल, रूफ रेल, एल आकारको र्यापअराउन्ड एलईडी टेललाइट र ड्युअल एक्जस्ट टिप्स समावेश छ । सोरेन्टोको लम्बाइ ४८१५ एमएम, चौडाइ १९०० एमएम र उचाई १७८५ एमएम छ। यसको ह्विलबेस २८१५ एमएम रहेको छ।
सो एसयूभी ६ सिटर र ७ सिटर दुवै विकल्पमा उपलब्ध छ। यसमा १२.३ इन्चको टचस्क्रिन र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर रहेको छ। कारमा १२ स्पिकरसहितको बोस साउन्ड सिस्टम, प्यानोरामिक सनरुफ, हेड–अप डिस्प्ले, ड्युअल जोन क्लाइमेट कन्ट्रोल, पावर्ड टेलगेट र वायरलेस फोन चार्जरजस्ता फिचर दिइएको छ।
साथै सेफ्टीका लागि १० वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, डिजिटल इनसाइड रियर–भ्यु मिरर, अटो पार्किङ असिस्ट, फ्रन्ट र रियर ड्यासक्याम, टायर प्रेसर मोनिटरिङ सिस्टम र लेभल–२ प्लस एडास जस्ता फिचर समावेश गरिएको छ ।