सडक भासिएको सात दिनपछि पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा २५२ मिटर लामो डाइभर्सन ट्र्याक खोलिएको छ । तर सडक विभागका अनुसार सवारीसाधन सञ्चालनमा ल्याउन अझै करिब एक साता लाग्ने जनाएको छ ।
अहिले ट्र्याक राजमार्गसँग जोडिइसकेको सडक विभागका महानिर्देशक विजय जैसी बताएका छन। अहिले निर्माणका मेसिन आवतजावत गर्न सक्ने अवस्था बने पनि ग्रेड मिलाउने, पानीको व्यवस्थापन र भित्तो सुधार गर्नेलगायत काम बाँकी छन् ।
नेपाल जियो टेक्निकल सोसाइटीले सडक विभागसँगको समझदारीमा ट्र्याक निर्माण गरेको हो । जटिल भूगोलका कारण खोलातर्फबाट काम गर्न जोखिम भएपछि भासिएको सडकभन्दा करिब १५ मिटर माथि भित्तो काटेर वैकल्पिक ट्र्याक बनाइएको इन्जिनियर राजन केसीले बताए । केसीका अनुसार उक्त क्षेत्र पुरानै पहिरोको जोखिम रहेको स्थान हो । नदीतर्फबाट काम गर्दा पुनः बाढीको जोखिम हुने भएकाले ड्रोन सर्भेपछि जोखिम कम हुने विकल्प छनोट गरेर काम अघि बढाइएको हो ।
भदौ १० गते भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि कृष्णभीरमा सडक भासिएको थियो । त्यसयता नागढुंगा–मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा राजधानीमा दैनिक उपभोग्य वस्तुको आपूर्तिसमेत प्रभावित भएको छ । अहिले उक्त सडकबाट गुड्ने सवारीसाधनलाई कान्ति राजमार्ग र त्रिभुवन राजपथतर्फ डाइभर्ट गरिएको छ । महानिर्देशक जैसीका अनुसार नयाँ ट्र्याकमा थप समस्या नआए एक साताभित्र दुईतर्फी सवारी सञ्चालन गर्न सकिनेछ ।
तत्काल डाइभर्सनमा कालोपत्र नगरी ग्राभेल मात्र गरिने विभागले जनाएको छ । यससँगै पारिपट्टिबाट समेत वैकल्पिक सडक खोल्ने काम अघि बढिरहेको छ ।