गाउँपालिकाबाटै चालक अनुमतिपत्र वितरण

धनुषाको धनौजी गाउँपालिकाले स्थानीयवासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण कार्य सुरु भएको छ ।

यातायात व्यवस्था कार्यालय जनकपुरधाम र बर्दिबासबाट सञ्चालित परीक्षामा उत्तीर्ण भएका गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गरी पालिकाबाटै अनुमतिपत्र वितरणको व्यवस्था मिलाइएको हो ।

गाउँपालिका अध्यक्ष राजकुमार साहका अनुसार चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेका स्थानीय युवालाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था सुरु गरिएको हो ।

उनले पहिलो चरणमा यातायात व्यवस्था कार्यालय बर्दिबासबाट सञ्चालित प्रयोगात्मक परीक्षा (ट्रायल) उत्तीर्ण गरेका गाउँपालिकाका ४५ जनाको चालक अनुमतिपत्र प्राप्त भएकाले वितरण सुरु गरिएको जानकारी दिए।

पालिकाबाटै चालक अनुमतिपत्र प्राप्त गर्न थालेपछि अनुमतिपत्र लिन यातायात व्यवस्था कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हट्ने र स्थानीय सेवाग्राहीको समय तथा खर्च बचत हुने विश्वास गरिएको छ ।

यस व्यवस्थाले विशेषगरी यातायात कार्यालयसम्म पुग्न समय र खर्च व्यवस्थापन गर्नुपर्ने ग्रामीण क्षेत्रका सेवाग्राहीलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *