उद्धारका लागि सवारी उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल

नेपाल निर्माण व्यवसायी महासंघले भोटेकोसी बाढीबाट प्रभावित भएका नागरिकको उद्धार तथा राहतका लागि आफ्ना देशभरका सदस्यसँग सवारीसाधन माग गरेको छ ।

महासंघका महासचिव शिवहरि घिमिरेले शनिबार परिपत्र जारी गर्दै बाढीपीडितको सहयोगार्थ मिनीट्रक, पिकअपलगायत सवारीसाधन उपलब्ध गराउन सम्पूर्ण सदस्यलाई अपिल गरेका हुन् ।

विज्ञप्तिमा भोटेकोसीको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा अकल्पनीय मानवीय एवं भौतिक क्षति पुर्‍याएको उल्लेख छ । मुलुक अत्यन्त ठूलो पीडामा रहेको वर्तमान परिस्थितिमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु साझा दायित्व भएको महासंघले जनाएको छ ।

बाढीबाट अतिप्रभावित रसुवा, नुवाकोटलगायत जिल्लामा भौतिक पूर्वाधार विकास मन्त्रालयसँगको समन्वयमा तत्काल राहत सामग्री पुर्‍याउन र हजारौँ बाढीपीडितलाई उद्धार गरी सुरक्षित गन्तव्यतर्फ लैजान सवारीसाधनको आवश्यकता परेको महासंघले स्पष्ट पारेको छ । उक्त मानवीय कार्यका लागि तत्काल पिकअप, मिनीट्रकजस्ता सवारीसाधन उपलब्ध गराइदिन सदस्यहरुलाई अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *