काठमाडौं । भृकुटीमण्डपमा गत मंगलबारदेखि चलिरहेको नाडा अटो शो २०२६ आज सम्पन्न हुँदैछ। अटोमोबाइल क्षेत्रको ठूलो प्रदर्शनीका रूपमा आयोजना गरिएको शो अन्तिम दिन पनि दिनभर सञ्चालन हुने आयोजकले जनाएको छ।
यस वर्षको नाडा अटो शोमा दुईपाङ्ग्रे, प्यासेन्जर कार र कमर्शियल सवारीसाधनका ५३ ब्रान्ड सहभागी छन्। अटो कम्पोनेन्ट, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायतका गरी २०० भन्दा बढी स्टल प्रदर्शनीमा राखिएका छन्।
शोमा यसपटक करिब दुई दर्जन नयाँ सवारी मोडल सार्वजनिक गरिएका छन्। दुईपाङ्ग्रे र चारपाङ्ग्रे दुवै सेग्मेन्टमा नयाँ मोडल थपिँदा अवलोकनकर्ताको आकर्षण पनि बढेको छ।
विशेषगरी ३० देखि ५० लाख रुपैयाँ मूल्य समूहका कार तथा नयाँ मोटरसाइकल र स्कुटरतर्फ ग्राहकको चासो बढी देखिएको छ। नयाँ मोडल हेर्न तथा खरिद योजनाका लागि विभिन्न ब्रान्डका स्टलमा अवलोकनकर्ताको उपस्थिति उल्लेख्य रहेको छ।
ग्राहक आकर्षित गर्न कम्पनीहरूले बिक्री अफरलाई समेत प्राथमिकता दिएका छन्। विभिन्न ब्रान्डले नगद छुट, सडक कर र बीमा शुल्कमा सहुलियत तथा निःशुल्क सुविधा दिएका छन्। कतिपय कम्पनीले मोबाइल फोनदेखि विदेश भ्रमणसम्मका उपहार तथा अफर सार्वजनिक गरेका छन्।
मंगलबारदेखि सञ्चालनमा रहेको नाडा अटो शो आज साँझसम्म चल्नेछ। अन्तिम दिन भएकाले नयाँ सवारीसाधन अवलोकन तथा खरिद गर्ने ग्राहकका लागि विभिन्न कम्पनीका अफर उपयोग गर्ने अन्तिम अवसरसमेत रहेको छ।