बाढीको त्रास हटेपछि नागढुंगा–नारायणगढ रुटमा सवारी चल्यो

काठमाडौं । भोटेकोशी नदीको बहाव जोखिममुक्त देखिएपछि नागढुंगा–मुग्लिन–नारायणगढ सडकखण्डमा रोकिएको यातायात पुनः खुलाइएको छ।

रसुवामा आइतबार बिहान नदीको बहाव बढेको जानकारी आएपछि सुरक्षाका लागि सडकमा सवारी आवागमन रोकिएको थियो। पछि जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बहाव जोखिमपूर्ण नरहेको जानकारी दिएपछि प्रहरीले यातायात सञ्चालनमा ल्याएको हो।

यसअघि बुधबारको बाढीले यही सडकखण्डको बैरेनी–गलौंदी क्षेत्रमा करिब १३ किलोमिटर सडकमा लेदो थुपारेको थियो। त्यसपछि तीन दिनसम्म सडक अवरुद्ध भएको थियो।

लेदो हटाएपछि शुक्रबार साँझबाट सडक एकतर्फी सञ्चालनमा आए पनि आइतबार भोटेकोशीको बहाव बढेपछि फेरि सवारी रोकिएको थियो। जोखिम नदेखिएपछि अहिले सडकखण्डमा आवागमन सामान्य रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *