कोरला नाकाबाट एक महिनामै भित्रिए १०० विद्युतीय सवारी

काठमाडौँ । चीनसँगको उत्तरी सीमा नाका कोरला पछिल्लो समय विद्युतीय सवारीसाधन आयातको प्रमुख मार्गका रूपमा स्थापित हुँदै गएको छ। चालु आर्थिक वर्षको पहिलो महिनामै यस नाकाबाट एक सय वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्।

मुस्ताङ भन्सार कार्यालयका अनुसार एक महिनाको अवधिमा विद्युतीय सवारीसाधनसहित विभिन्न सामग्री आयातबाट राज्यकोषमा २९ करोड रुपैयाँ राजस्व दाखिला भएको छ।

भन्सार नाकाबाट हुने आयातको चापसमेत बढ्दै गएको छ। भन्सार प्रमुख विदुर चुडालका अनुसार हाल कोरला नाकाबाट दैनिक करिब १० वटा कन्टेनरको भन्सार जाँचपास भइरहेको छ।

पछिल्लो समय कोरला नाका विद्युतीय सवारीसाधन भित्र्याउने वैकल्पिक मार्गका रूपमा विकसित हुँदै गएको छ। गत आर्थिक वर्षमा मात्रै यही नाकाबाट करिब तीन हजार वटा विद्युतीय सवारीसाधन आयात भएका थिए।

गत आर्थिक वर्षमा कोरला नाकाबाट ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। विद्युतीय सवारीसाधनको आयातसँगै अन्य व्यापारिक वस्तुको आवागमन बढेपछि नाकाको राजस्व योगदानसमेत विस्तार हुँदै गएको छ।

व्यावसायिक गतिविधि बढ्दै गएसँगै कोरला नाका नेपालमा विद्युतीय सवारीसाधन आयातका लागि महत्वपूर्ण प्रवेशबिन्दुका रूपमा विकास हुँदै गएको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *