सीएटीएलले सन् २०३५ सम्म सम्पूर्ण ब्याट्री उत्पादन कार्बन न्यूट्रल बनाउने

काठमाडौं । विश्वकै अग्रणी विद्युतीय सवारीसाधन ब्याट्री निर्माता सीएटीएलले ब्याट्री उत्पादनसँग जोडिएको सम्पूर्ण मूल्य शृंखलालाई सन् २०३५ सम्म कार्बन न्यूट्रल बनाउने लक्ष्य अघि सारेको छ। कम्पनीले उत्पादन केन्द्रमा उत्सर्जन घटाउने लक्ष्य पूरा गरेसँगै अब कच्चा पदार्थदेखि ब्याट्री पुनःप्रयोगसम्मको प्रक्रियालाई वातावरणमैत्री बनाउने योजना अघि बढाएको हो।

सीएटीएलले सन् २०२३ मा सार्वजनिक गरेको शून्य–कार्बन रणनीतिअनुसार सन् २०२५ सम्म मुख्य सञ्चालनलाई कार्बन न्यूट्रल बनाउने र त्यसपछि सन् २०३५ सम्म सम्पूर्ण मूल्य शृंखलामा सो लक्ष्य विस्तार गर्ने योजना बनाएको थियो। कम्पनीका अनुसार २०२५ को अन्त्यसम्म २० वटा ब्याट्री प्लान्टले ‘आईएसओ १४०६८–१’ अन्तर्गत शून्य–कार्बन कारखानाको प्रमाणपत्र प्राप्त गरेका छन्।

कम्पनीले २०२५ मा आफ्ना मुख्य सञ्चालनमा प्रयोग भएको विद्युत् शतप्रतिशत शून्य–कार्बन स्रोतबाट प्राप्त भएको जनाएको छ। सन् २०२३ देखि हालसम्म १८ अर्ब किलोवाट आवरभन्दा बढी स्वच्छ ऊर्जा प्रयोग गरिएको सीएटीएलको दाबी छ।

ऊर्जा दक्षता सुधारमा समेत कम्पनीले प्रगति गरेको जनाएको छ। सन् २०२२ को तुलनामा २०२५ मा प्रतिइकाई उत्पादनका लागि आवश्यक ऊर्जा खपत २८ प्रतिशत घटेको छ। त्यस्तै, पछिल्लो दुई वर्षमा कार्बन उत्सर्जनको तीव्रता करिब ७७ प्रतिशतले घटेको र १ करोड टनभन्दा बढी कार्बनडाइअक्साइड बराबरको उत्सर्जन कम गरिएको कम्पनीले जनाएको छ।

सीएटीएलले अब आफ्नो ध्यान उत्पादन कारखानाभन्दा बाहिर हुने उत्सर्जन घटाउन केन्द्रित गर्ने भएको छ। कम्पनीका अनुसार उसको उत्पादनसँग सम्बन्धित जीवनचक्र उत्सर्जनमध्ये ८० प्रतिशतभन्दा बढी आपूर्ति शृंखलाबाट आउने गरेको छ। आपूर्ति शृंखलाबाट हुने उत्सर्जन कम्पनीको आफ्नै सञ्चालनबाट हुने उत्सर्जनको तुलनामा पाँच गुणाभन्दा बढी रहेको बताइएको छ।

यसका लागि कम्पनीले खानीबाट कच्चा पदार्थ निकाल्ने चरणदेखि त्यसको प्रशोधन, ब्याट्री सामग्री तथा अवयव उत्पादन, ढुवानी र पुनःप्रयोगसम्मको कार्बन उत्सर्जनको तथ्यांक संकलन तथा निगरानी गर्ने प्रणाली अघि बढाएको छ। ‘सीएटीएल कार्बन चेन’ व्यवस्थापन प्रणालीमार्फत १०० भन्दा बढी प्रमुख आपूर्तिकर्ताको वास्तविक कार्बन तथ्यांक संकलन भइसकेको कम्पनीले जनाएको छ।

सीएटीएलका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत रोबिन जेङले शून्य–कार्बन लक्ष्यलाई वातावरणीय दायित्वका रूपमा मात्र नभई नयाँ प्रविधि र औद्योगिक विकासको अवसरका रूपमा लिएको बताएका छन्।

ब्याट्री उत्पादन बढ्दै जाँदा त्यससँग सम्बन्धित कार्बन उत्सर्जन नियन्त्रण गर्ने चुनौती पनि बढिरहेको अवस्थामा कम्पनीले २०३५ सम्म कच्चा पदार्थको स्रोत, उत्पादन प्रक्रिया, ढुवानी र ब्याट्री पुनःप्रयोगलाई समेत आफ्नो कार्बन न्यूनीकरण योजनामा समेटेको छ।

सीएटीएलले २०२५ मा ७४८ गिगावाट आवर ब्याट्री उत्पादन गरेको जनाएको छ। सन् २०२२ देखि २०२५ सम्म कम्पनीको लिथियम–आयन ब्याट्री बिक्री २.३ गुणाले वृद्धि भएको तथ्यांकले उत्पादन विस्तारसँगै कार्बन उत्सर्जन घटाउने प्रयासलाई समानान्तर रूपमा अघि बढाउनुपर्ने आवश्यकता देखाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *