गोर्खा ग्रीन र क्रस खुकुरीसहित आयो क्लासिक ३५० को ‘गोर्खा एडिसन’

काठमाडौं– रोयल इन्फिल्डले क्लासिक ३५० को विशेष संस्करण ‘गोर्खा एडिसन’ भारतीय बजारमा सार्वजनिक गरेको छ। भारतीय सेनाको गोर्खा रेजिमेन्टको साहस र विरासतलाई सम्मान गर्दै कम्पनीले यो विशेष संस्करण तयार पारेको हो।

गोर्खा एडिसनको सुरुवाती मूल्य भारु २ लाख १० हजार ६८४ रुपैयाँ तोकिएको छ। नियमित क्लासिक ३५० भन्दा फरक पहिचान दिन यसमा ‘गोर्खा ग्रीन’ रङ प्रयोग गरिएको छ। फ्युल ट्यांक र साइड प्यानलमा गोर्खा रेजिमेन्टको प्रतीकका रूपमा क्रस खुकुरीको चिन्ह राखिएको छ।

प्राविधिक रूपमा भने मोटरसाइकलमा क्लासिक ३५० मा प्रयोग हुँदै आएको परिमार्जित ३४९ सीसी जे–सिरिज सिंगल–सिलिन्डर इन्जिन नै दिइएको छ। उक्त इन्जिनले २० बीएचपी पावर र २७ एनएम टर्क उत्पादन गर्छ।

इन्जिनलाई ५–स्पीड गियरबक्ससँग जोडिएको छ। साथै, सहज र सुरक्षित राइडिङका लागि असिस्ट एन्ड स्लिपर क्लच उपलब्ध गराइएको छ।

त्यसैगरी, दैनिक प्रयोगलाई थप सहज बनाउन मोटरसाइकलमा टाइप–सी यूएसबी फास्ट चार्जिङ पोर्टसमेत राखिएको छ। यससँगै क्लासिक ३५० को परिचित डिजाइनमा गोर्खा रेजिमेन्टसँग जोडिएको विशेष रङ, ब्याज र ग्राफिक्स थपिएको छ।

गोर्खा रेजिमेन्टको ऐतिहासिक पहिचानलाई मोटरसाइकलको डिजाइनसँग जोडेर ल्याइएको यो संस्करणले क्लासिक ३५० लाई नयाँ स्वरूपमा प्रस्तुत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *