अटो बीमा दाबीमा समस्या होइन, प्रक्रिया नबुझ्दा जटिलता : पन्त

काठमाडौं । अटो बीमा दाबी गर्न झन्झट हुन्छ भन्ने आम बुझाइ रहे पनि त्यसको मुख्य कारण प्रक्रिया र आवश्यक प्रमाणबारे पर्याप्त जानकारी नहुनु रहेको एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले बताएका छन्।

बिहीबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एण्ड इन्स्योरेन्स’ कार्यक्रममा बोल्दै पन्तले आवश्यक कागजात र क्षतिको यथार्थ विवरण उपलब्ध गराएमा बीमा दाबी फर्छ्योट सहज हुने बताए।

उनका अनुसार बीमा दाबी फर्छ्योट गर्दा निष्पक्षता र पारदर्शिता कायम गर्नुपर्ने हुन्छ। त्यसका लागि बीमा ऐनअनुसार आवश्यक प्रमाण तथा कागजातको परीक्षण गरिने भएकाले प्रक्रियालाई बुझेर अघि बढ्दा समस्या नहुने उनको भनाइ छ।

“बीमा दाबीको आधारभूत सिद्धान्त र प्रक्रिया बुझेपछि यो सहज हुन्छ,” पन्तले भने।

बीमा दाबीलाई छिटो फर्छ्योट गर्न नेपाल बीमा प्राधिकरणले समेत आवश्यक निर्देशन दिँदै आएको उनले बताए। दाबी कुन चरणमा पुगेको छ भन्ने जानकारी सेवाग्राहीले सहजै थाहा पाउने गरी ड्यासबोर्डमा विवरण राख्ने व्यवस्था आवश्यक रहेको उनको भनाइ छ।

पन्तले सवारीसाधन र मोबाइल फोनबाहेक अन्य घरायसी सामानको बीमा भने अपेक्षाकृत कम रहेको बताए। जोखिमको पर्याप्त अनुभूति नहुँदा घरायसी सामानको बीमातर्फ आकर्षण कम देखिएको उनले बताए।

ईभीको बीमाबारे उनले ब्याट्रीमा ५० प्रतिशतसम्म मात्रै डिप्रिसिएसन कटौती हुने जानकारीसमेत दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *