एथरमा हिरोको १० अर्ब भारु थप लगानी, नयाँ ई–स्कुटरको तयारी

काठमाडौं । भारतको अग्रणी दुईपाँग्रे सवारी निर्माता हिरो मोटोकर्पले इलेक्ट्रिक स्कुटर निर्माता एथर इनर्जीमा थप १ हजार करोड भारतीय रुपैयाँ (करिब १० अर्ब भारु) लगानी गर्ने घोषणा गरेको छ।

पेट्रोलबाट चल्ने मोटरसाइकल तथा स्कुटर उत्पादनमा अग्रस्थानमा रहेको हिरोले एथरसँगको साझेदारीलाई अझ मजबुत बनाउन यो नयाँ लगानी गर्न लागेको हो। कम्पनीले सन् २०१६ देखि एथरमा लगानी गर्दै आएको छ भने हाल पूर्ण डाइल्युटेड आधारमा २९.४८ प्रतिशत सेयर स्वामित्वसहित एथरको सबैभन्दा ठूलो लगानीकर्ता बनेको छ।

हिरोका अनुसार नियामक निकाय र सेयरधनीबाट आवश्यक स्वीकृति प्राप्त भएपछि प्रिफरेन्सियल अलटमेन्टमार्फत इक्विटी सेयर वा इक्विटीसँग सम्बन्धित परिवर्तनीय धितोपत्र जारी गरेर उक्त लगानी गरिनेछ। सबै स्वीकृति प्राप्त भएको १५ दिनभित्र लगानी प्रक्रिया पूरा गर्ने योजना रहेको बताइएको छ।

एथरले नयाँ ईएल (EL) प्लेटफर्ममा आधारित आफ्नो पहिलो मास–मार्केट इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने तयारी गरिरहेका बेला हिरोको यो लगानी घोषणा भएको हो। कम्पनीले आगामी अगस्ट २९ मा आयोजना हुने कम्युनिटी डे २०२६ मा उक्त नयाँ स्कुटर सार्वजनिक गर्ने यसअघि नै जानकारी दिइसकेको छ।

एथरको नयाँ ईएल प्लेटफर्म उत्पादन क्षमता विस्तार, लागत व्यवस्थापन र विभिन्न बजार खण्डलाई लक्षित गर्दै नयाँ उत्पादन विकासका लागि तयार गरिएको कम्पनीको भनाइ छ। यसले एथरलाई प्रिमियम सेग्मेन्टबाट बाहिर निस्किएर अझ ठूलो ग्राहक वर्गसम्म पुग्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

हिरोको थप लगानीसँगै एथरले आगामी दिनमा नयाँ उत्पादन विकास, अत्याधुनिक प्रविधिको विस्तार तथा दिगो ब्याट्री व्यवस्थापनमा थप गति लिने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *