हेटौँडा–काठमाडौँ जोड्ने प्रमुख सडकहरू सञ्चालनमा रोक

लगातारको वर्षाका कारण मकवानपुरका विभिन्न सडक खण्डमा पहिरो र बाढीको जोखिम बढेपछि सवारी सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा–काठमाडौँ जोड्ने प्रमुख सडकहरूमा रात्रिकालिन सवारी सञ्चालनमा रोक लगाएको हो ।

प्रशासनले मङ्गलबार सूचना जारी गर्दै आज साँझ ६ः३० बजेदेखि बुधबार बिहान ५ः०० बजेसम्मका लागि सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो ।

प्रशासनका अनुसार हेटौँडा–भैँसे–काठमाडौँ सडक खण्ड र हेटौँडा हुँदै काठमाडौँ जाने कान्ति लोकपथमा रातीको समयमा सवारी सञ्चालनमा रोक लगाएको हो ।

गत असार २८ गते रातिदेखि परिरहेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम बढेकाले सवारी आवागमनमा रोक लगाएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।

मौसम पूर्वानुमान अनुसार थप वर्षा हुने सम्भावना रहेकाले हेटौँडा–भैँसे–काठमाडौँ सडक खण्डको बागझोर क्षेत्रमा ग्रेगनसहितको लेदो (भेल) आउन सक्ने जोखिम रहेको छ भने भीमफेदीस्थित बेलिब्रिज मर्मत भइरहेको र वैकल्पिक डाइभर्सन बाढीले बगाएको छ ।

हेटौँडा–भीमफेदी–सिस्नेरी–काठमाडौँ सडक खण्डमा ढुङ्गा खस्ने र पहिरो जाने उच्च जोखिम कायम रहेको प्रशासनले जनाएको छ ।

यात्रुको सुरक्षा र सडक दुर्घटना न्यूनीकरण गर्नका लागि अत्यावश्यक अवस्था बाहेक उक्त सडकमा रात्रिकालिन समयमा यात्रा नगर्न प्रशासनले अनुरोध गरेको छ।

साथै कान्ति लोकपथमा यसअघि नै कायम रहेको सवारी आवागमन बन्दको रहेको प्रशासनले जनाएको छ ।

उक्त सडकहरूमा सोमबार राति पनि सवारी सञ्चालनमा रोक लगाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *