ट्राफिक नियम पालना नगर्ने प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङलाई कारवाही गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् ज्ञानेन्द्र शाहीले माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले सिटबेल्ट नलगाउने प्रधानमन्त्री र गृहमन्त्रीलाई कारवाही किन नहुने भन्दै प्रश्न गरेका हुन् ।‘ट्राफिक नियम पालना नगर्दा सर्वसाधाणलाई कारवाही हुन्छ भने सिटबेल्ट नलगाउने प्रधानमन्त्री र गृहमन्त्रीलाई कारवाही किन हुँदैन भन्दै सांसद शाहीले प्रश्न गरे ।
उनले आफूहरूले सडकमा पार्किङ गर्न नभनेको बताउँदै भ्रम फैल्याइएको प्रति आपत्ति जनाएका छन्। उनले यस विषयमा संसद्को रेकर्डमा हेरेर पुष्टी गर्न मागसमेत गरेका छन्।
‘हामीले कहिले सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेका छौँ कसैसँग दम र हिम्मत छ भने संसद्को रेकर्डमा हेरियोस् । हामीले कहिल्यै पनि जथाभावी सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेका छैनौँ। यस्ता भ्रमात्मक अल्गोरिदम त्याएर मान्छेको चरित्रहत्या गर्ने काम नगरियोस् भन्दै शाहीले चेतावानी दिए।
उनले प्रहरीको रुखो, अमानवीय र अपमानजनक व्यवहारका कारण कुनै नागरिक आत्माहत्या गर्न बाध्य हुन नहुने बताए । ‘हामीले त यतिमात्र भनेका हौँ। प्रहरीको रुखो, अमानवीय र अपमानजनक व्यवहारका कारण कुनै नागरिक आत्माहत्या गर्न बाध्य नहोस् । कानुन सबका लागि बराबर हो,’ उनले बताए ।
शाहीले सरकारले तत्काल पार्किङ व्यवस्थापनको योजना बनाएर काम गर्नुपर्ने बताए ।