तीन दिनदेखि हराएकी ६० वर्षीया कुटुरीदेवी महत जीवितै भेटिएपछि बझाङको चुवावन गाउँमा खुसी छाएको थियो। परिवार र गाउँलेको त्यो खुसी पाँच घण्टा पनि टिकेन। कुटुरीदेवीलाई घर फर्काउँदै गरेको जिप दुर्घटनामा पर्दा उनीसहित तीन जनाको मृत्यु भएको छ।
श्रीमान् प्यारुलालको गत जेठ २६ गते निधन भएपछि कुटुरीदेवीको व्यवहार अस्वाभाविक बन्दै गएको आफन्तले बताएका छन्। टोलाउने र एक्लै बोल्ने गर्न थालेकी उनी बिहीबार घाँस काट्न भन्दै घरबाट निस्किएपछि हराएकी थिइन् ।
तीन दिनसम्म गाउँले र आफन्तले आसपासका गाउँ तथा जंगलमा उनको खोजी गरेका थिए। शनिबार बिहान बुङ्गल नगरपालिकाको जंगलमा उनी जीवितै फेला परेपछि परिवारमा खुसी फर्किएको थियो।
आमा सकुशल भेटिएपछि छोरी विमला महत धामी सबैभन्दा बढी खुसी थिइन्। तीन दिनदेखि भोकप्यासले कमजोर बनेकी आमालाई हिँडाएर दुर्गाथली–६ स्थित चुवावन लैजान नसकिने भएपछि उनले जिपमै घर पुर्याउने तयारी गरेकी थिइन्।
विमलाका श्रीमान् देव धामीले चलाएको सुपप्र ०१–००१ च २६६४ नम्बरको बोलेरो जिपमा खोजीमा खटिएका आफन्तसहित १६ जना सवार थिए। विमला आमाकै छेउमा बसेकी थिइन् भने ठाउँ नपुगेपछि केही आफन्त पैदलै गाउँतर्फ लागेका थिए।
तर केदारस्यूँ गाउँपालिका–७ स्थित साँघुरो सुगुरे घुम्तीमा जिप दुर्घटनामा पर्यो। प्रहरीले प्रारम्भिक रूपमा घुम्तीमा गाडी मोड्ने पर्याप्त ठाउँ नभएपछि चालकले ब्याक गरेर मोड्ने क्रममा जिप भीरबाट करिब ३०० मिटर तल खसेको जनाएको छ।
दुर्घटनामा कुटुरीदेवी, उनकी छोरी विमला र देवर चक्र महतको घटनास्थलमै मृत्यु भयो। ‘हराएको मान्छे भेटिनुभयो भनेर सबै खुसी थियौं। हाम्रो खुसी दैवले देख्न सकेन,’ मृतकका आफन्त दीपक जाग्रीले भने, ‘अहिले गाउँभरि रुवाबासी छ।’
दुर्घटनामा जिप चालक देव धामीसहित सात जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि काठमाडौं, नेपालगन्ज र सुर्खेत लगिएको छ। घाइतेमध्ये देवको अवस्था चिन्ताजनक रहेको चिकित्सकले जनाएका छन्।
शनिबार नै नेपाली सेनाको हेलिकप्टर उद्धारका लागि बझाङ पुगे पनि खराब मौसमका कारण घटनास्थलमा अवतरण गर्न सकेको थिएन। हवाई उद्धार सम्भव नभएपछि घाइतेलाई सडकमार्गबाट करिब १० घण्टापछि जिल्ला अस्पताल पुर्याइएको थियो।
दुर्घटनापछि बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले घाइतेको उपचार खर्च जिल्लाका स्थानीय तहले बेहोर्ने निर्णय गरेको छ। प्रत्येक स्थानीय तहले कम्तीमा दुई लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने तथा राजनीतिक दल, उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था र अन्य व्यक्तिसँग स्वेच्छिक सहयोगका लागि अनुरोध गर्ने निर्णय भएको छ।
घाइतेको उपचारका लागि आवश्यक सहायता उपलब्ध गराउन गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई समेत अनुरोध गरिने भएको छ।
बैठकले साँघुरा घुम्ती, वर्षा, बाढी, नदी कटान र पहिरोका कारण सडकमा बढेको जोखिमबारे पनि छलफल गरेको छ। स्थानीय तहले आ–आफ्नो क्षेत्रका सडक मर्मत तथा जोखिमपूर्ण घुम्ती सुधार गर्ने निर्णय गरेका छन्।
बझाङमा साँघुरा घुम्तीमा सवारी मोड्ने पर्याप्त ठाउँ नहुँदा यसअघि पनि दुर्घटना हुँदै आएका छन्। पटक–पटक दुर्घटना हुँदा समेत सडक सुधार र सुरक्षामा पर्याप्त ध्यान नदिएको भन्दै प्रदेश सरकार र स्थानीय तहको आलोचना हुँदै आएको छ।