मृत्युको राजमार्ग बन्दै कर्णाली, तीन वर्षमा १११ जनाको मृत्यु

कर्णाली राजमार्गमा सवारी दुर्घटनाको जोखिम भयावह बन्दै गएको छ। साँघुरो र कठिन सडक, पुराना सवारी साधन तथा ट्राफिक नियमको बेवास्ताका कारण राजमार्गमा वर्षेनि ठूलो संख्यामा यात्रुले ज्यान गुमाइरहेका छन्।

गत बिहीबार सुर्खेतबाट कालीकोटको रास्कोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख १०५५ नम्बरको मिनी बस दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ सांगेतडाबाट कर्णाली नदीमा खसेको थियो। दुर्घटनाको ६ दिन बितिसक्दा पनि गाडी फेला परेको छैन भने त्यसमा कति यात्रु सवार थिए भन्ने अझै यकिन हुन सकेको छैन।

दुर्घटनापछि एक जनाको शव घटनास्थलमै फेला परेको थियो। कैलालीको चिसापानी नजिक कर्णाली नदी किनारमा थप एक पुरुष र एक महिलाको शव भेटिएको छ।

कर्णाली राजमार्गमा भएका ठूला दुर्घटनाको सूची लामो छ। गत वर्ष जेठमा दैलेखको आठबीस नगरपालिका–२ सिस्नेडाँडामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए।

यसअघि २०६६ साल चैतमा दैलेखको किटुमा भएको दुर्घटनामा ४२ जनाले ज्यान गुमाएका थिए। त्यस्तै, २०६९ सालमा कालीकोटको सेराबाडास्थित बित्तामोडमा भएको दुर्घटनामा २८ जनाको मृत्यु भएको थियो।

प्रहरी तथ्यांकअनुसार कर्णाली प्रदेशमा हुने सडक दुर्घटनामध्ये करिब ५६ प्रतिशत कर्णाली राजमार्गमै हुने गरेका छन्। आर्थिक वर्ष २०७१/७२ यता राजमार्गमा भएका दुर्घटनामा ९१७ जनाले ज्यान गुमाइसकेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

पछिल्लो तीन वर्षमा मात्रै यही सडकमा १११ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन्। कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाका अनुसार साँघुरो र अप्ठेरो सडक, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति, पुराना सवारी साधन र ट्राफिक नियमको बेवास्ता दुर्घटनाका मुख्य कारण हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *