काठमाडौं– चिनियाँ अटोमोबाइल ब्रान्ड जेटोरले पाकिस्तानमा आफ्नो नयाँ टी-२ आई डीएम प्लग–इन हाइब्रिड एसयूभी सार्वजनिक गरेसँगै उल्लेखनीय सफलता हासिल गरेको छ। कम्पनीका अनुसार बुकिङ खुलाएको केही दिनभित्रै यस मोडलका लागि १,००० भन्दा बढी अर्डर प्राप्त भएका छन्।
कम्पनीले यसलाई दक्षिण एसियाली बजारमा चिनियाँ आधुनिक एसयूभीप्रति बढ्दो विश्वास र उच्च ग्राहक मागको संकेतका रूपमा लिएको छ।
जेटोर टी-२ आई डीएम मा अत्याधुनिक प्लग–इन हाइब्रिड प्रविधि, आकर्षक तथा मस्कुलर एसयूभी डिजाइन र प्रिमियम सुविधाहरू समावेश गरिएको छ। यी विशेषताकै कारण छोटो समयमै ग्राहकको राम्रो प्रतिक्रिया प्राप्त भएको कम्पनीको दाबी छ।
यसमा प्रयोग गरिएको विशेष चेसिस र विभिन्न ड्राइभिङ मोडले कठिन सडकमा पनि उत्कृष्ट प्रदर्शन गर्ने बताइएको छ। साथै, प्लग–इन हाइब्रिड पावरट्रेनले इन्धनको खपत घटाउँदै प्रभावकारी माइलेज दिने कम्पनीको भनाइ छ।
गाडीको इन्टेरियर, आधुनिक इन्फोटेनमेन्ट सिस्टम र आरामदायी केबिनले प्रिमियम एसयूभीको अनुभव प्रदान गर्ने दाबी गरिएको छ।
नेपाली बजारमा पनि चिनियाँ ब्रान्डका सवारीसाधनप्रति आकर्षण बढिरहेका बेला पाकिस्तानमा जेटोरले हासिल गरेको यो सफलता नेपाली अटो बजारका लागि समेत चासोको विषय बनेको छ।