१२ वर्षदेखि रोकिएको तनहुँ–चितवन जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुलको काम तुरुन्त सुरु गर्न निर्देशन दिइएको छ।
सडक डिभिजन कार्यालय दमौलीले निर्माण कम्पनीलाई पत्र पठाएर काम अघि बढाउन भनेको हो।
निर्माण कम्पनीले पेस गरेको नयाँ डिजाइन तेस्रो पक्षबाट जाँच भइसकेपछि काम गर्न अनुमति दिइएको हो।
पुल नबन्दा स्थानीय बासिन्दाले लामो समयदेखि समस्या भोग्दै आएका थिए।
यस विषयमा मन्त्री, सांसद र सम्बन्धित निकायलाई पटकपटक ध्यानाकर्षण गराइएको थियो।
निर्वाचनका बेला उम्मेदवारहरूले पनि पुल बनाउने प्रतिबद्धता जनाएका थिए।
सम्झौता भएको १२ वर्ष बित्दा पनि पुल निर्माण पूरा हुन सकेको छैन।

अहिलेसम्म दुवैतर्फ पिलर मात्र बनेका छन्।
पहिलो पटक २०७० सालमा निर्माणका लागि सम्झौता गरिएको थियो।
पछि म्याद थप र डिजाइन परिवर्तन गर्दै २०७५ मा फेरि सम्झौता गरिएको थियो।
२०७८ चैतसम्म सकिनुपर्ने काम हालसम्म करिब ३६ प्रतिशत मात्रै भएको छ।
अब २०८३ असारसम्मका लागि निर्माण अवधि थपिएको छ।
यो पुल बनेपछि पोखरा र नारायणगढबीचको दूरी करिब २३ किलोमिटर छोटिनेछ।
देवघाट क्षेत्रका स्थानीयलाई पनि यसले सहज आवतजावतको सुविधा दिनेछ।
हाल पुल नहुँदा सवारी साधन बाटोमै फर्कन बाध्य छन्।
मोटरसाइकल भने धकेलेर पार गर्नुपर्ने अवस्था छ।
१०५ मिटर लामो र ११ मिटर चौडा बन्ने यो पुलको लागत सुरुमा करिब ९ करोड ५६ लाख रुपैयाँ अनुमान गरिएको थियो।
Post Views: 50